सेना र प्रहरीको पेट्रोल पम्पमै ठगी,मापदण्डभन्दा कम तेल वितरण

चैत ४, काठमाडौं- सरकारी निकायबाट संचालित पेट्रोल पम्पले नै उपभोक्ता ठग्ने गर्दा रहेछन् भने निजी पम्पहरुले मनोमानी नगर्ने कुरै भएन । आम उपभोक्ताले गुणस्तर र नापतौलमा विश्वास गर्ने नेपाल प्रहरी र नेपाली सेनाले संचालन गरेको पम्पहरुबाटै मापदण्डभन्दा कम तेल वितरण भएको पाइएको छ ।मंगलबार गरिएको अनुगमनका क्रमममा कम परिमाणमा इन्धन वितरण गरेको पाइएपछि सेना र प्रहरीले सञ्चालन गरेका दुई पम्प सिल गरिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति, गुणस्तर तथा नापतौल विभाग र आयल निगमको संयुक्त टोलीले भद्रकालीस्थित सेनाको पम्प र नक्सालको प्रहरी पम्पमा अनुगमन गर्दा कैफियत भेटिएपछि सिल गरेको हो ।टोलीले सोमबार स्वयम्भूस्थित सशस्त्रको हलचोक फ्युल स्टेसनमा अनुगमन गरेको थियो । त्यस क्रममा ५ लिटर पेट्रोलमा १३ मिलिलिटर, ५ लिटर डिजेलमा ८ एमएल कम वितरण भएको पाइएको विभागका निर्देशक पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा पम्पले बिलको कार्बन कपी नराखेको, पेट्रोल-डिजेलको मात्रा जाँच गर्दा घटी पाइएको, दक्षिणतर्फको नोजल ड्राई रहेको जस्ता कैफियत भेटेको थियो ।सुवेदीका अनुसार ऐन बाझिँदा कारबाहीमा समस्या उपभोक्ता संरक्षण र गुणस्तर तथा नापतौल ऐन बाझिएकाले न्यून इन्धन बाँड्ने पम्पलाई कारबाही गर्न समस्या देखिएको छ ।

गुणस्तर तथा नापतौल ऐनले ५ लिटरमा १५ एमएलसम्मलाई मान्यता दिएको छ । त्यसैले निजी क्षेत्रलगायतमा न्यून इन्धन वितरण गर्नेलाई पनि अनुगमन टोलीले कारबाही गर्न सकेको छैन । सुधारको मात्रै निर्देशन दिने गरेको छ ।

विभागका अनुसार पम्पको उत्तरतर्फको नोजलबाट ५ लिटर पेट्रोल जाँच गर्दा १० एमएल कम, दोस्रो जाँचमा ५ एमएल र तेस्रो जाँचमा १३ एमएल घटी पाइएको थियो। मुलुकमा अटोमेटिक र म्यानुअल गरी २ प्रकारका पम्प छन् ।

अनुगमनका क्रममा अटोमेटिक पम्पमा बढी ठगी हुने गरेको पाइएको विभागले जनाएको छ । अहिले सबैभन्दा बढी राजमार्गका पम्पहरूमा ठगी हुने गरेका उपभोक्ताको गुनासो छ । राजमार्गमा अनुगमन पनि कमै हुने हुँदा ठगी भइरहेको उपभोक्तावादीहरूको ठम्माइ छ ।विभागले गरेको अनुगमन प्रभावकारी नभएको गुनासो बढ्न थालेपछि मन्त्रिपरिषद् कार्यालयले पनि अनुगमनमा चासो देखाएको हो ।