एमाओवादीलाई वार्तामा फर्काउने कांग्रेस-एमालेको निर्णय

चैत ३, काठमाडौ- एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा आन्दोलनमा जाने निर्णय गरेपनि उसलाई कसरी वार्तामा फर्काउने भन्ने रणनीतिमा लागेका छन् ।न संविधानसभाको बैठक चलेको न वार्ता नै हुन सकेको स्थितिमा एमाओवादी आन्दोलनमा गएपछि सोमबार राति एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नेपाली काँग्रेस र एमालेका शीर्ष नेताहरुबीच वार्ता भएको छ ।दुईघण्टा लामो छलफलपछि कानुन मन्त्री एवं नेपाली काँग्रेसका नेता नरहरि आचार्यले एमाओवादी नेतृत्वको मोर्चालाई आन्दोलनका कार्यक्रम छाडेर वार्ता र छलफलबाटै निकास निकाल्न आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

एमाओवादी मोर्चाले रोजेको आन्दोलनले संविधान निर्माण गर्न र वार्ता एवं छलफल गर्नलाई पनि कुनै सहयोग नगर्ने भएकाले आन्दोलनलाई छाडेर वार्तामा आउन आह्वान गरेको उहाँले बताउनुभयो ।बैठकमा सहमतिमै संविधान निर्माण गर्न काँग्रेस—एमाले सकारात्मक रहेको स्पष्ट भएको बताउँदै उहाँले सहमतिबाटै संविधान बनाउने एक मात्र बिकल्प वार्ता नै भएकाले वार्तामा आउन विपक्षी मोर्चालाई आह्वान गरेको बताउनुभयो ।

संविधान सभाभित्रै बसेर विवादित विषयलाई टुङ्ग्याउन विपक्षी मोर्चालाई काँग्रेस, एमालेले आह्वान गरेको आचार्यले बताउनुभयो ।छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक अग्नि खरेलले विपक्षी मोर्चाको आन्दोलनले निकास नदिने बरु वार्ता र सहमतिको वातावरण पनि बिथोल्ने बताउनुभयो ।

काँग्रेस—एमालेको छलफलमा वार्ता र सहमतिको वातावरण बिग्रन दिन नहुने बारेमा छलफल भएको बताउँदै वार्ताका लागि विपक्षीलाई आह्वान गर्नेबारेमा छलफल भएको उहाँले बताउनुभयो ।आन्दोलन होइन, सहमतिको एकमात्र सफल स्थल संविधानसभा नै भएकाले संविधान सभामा आएर वार्तामा बस्न विपक्षीलाई आग्रह गरेको उहाँले बताउनुभयो ।

संविधानसभाका अध्यक्षले संविधानसभाको बैठक आह्वान गरेमा संविधान निर्माण प्रक्रियाबाटै भए पनि अगाडि बढ्ने बताउँदै उहाँले संविधानसभा बैठक आह्वान गर्नुअघि नै सहमति कायम गर्नका लागि वार्तामा आउन विपक्षीलाई आह्वान गरेको बताउनुभयो ।

बैठकमा नेपाली काँग्रेसका तर्फबाट वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला, कानुन मन्त्री नरहरी आचार्य र वन मन्त्री महेश आचार्य सहभागी हुनुहुन्थ्यो ।त्यसैगरी, एमालेका तर्फबाट एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र विद्या भण्डारी, प्रमुख सचेतक अग्नि खरेल र सचिव विष्णु पौडेलको सहभागिता रहेको थियो ।