विश्वकप छनोट दोस्रो लेगको तयारी पूरा, भारतसंग मंगलवार खेल हुने

चैत २, काठमाडौं- अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सन् २०१८ मा रसियामा हुने विश्वकप तथा २०१९ मा युएईमा हुने एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लेगको तयारी पूरा भएको जानकारी दिएको छ ।

खेल सञ्चालन गर्न अनुमानित रु ३० लाख खर्च लाग्ने र त्यसका लागि विश्व फुटबल महासङ्घ (फिफा) बाट तीन लाख डलर सहयोग आउने कुरा भएको जानकारी आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव धीरेन्द्र प्रधानले दिनुभयो ।

चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध आगामी मङ्गलवार दिउँसो ३ः३० बजे दशरथ रङ्गशालामा उत्रदा नेपालले ‘होम लेग’ खेल्नेछ । छनोट चरणको पहिलो खेल ‘अवे लेग’को रुपमा नेपालले भारतसँग गत २८ फागुनमा गुवाहाटीमा खेलेको थियो, जसमा नेपाल ०–२ ले पछाडि रहेको छ ।

प्रतियोगिताका लागि साधारणतर्फ आठ हजार तथा विशिष्टतर्फ दुई हजार गरी जम्मा १० हजार टिकट मात्र बिक्री हुनेछन् । अठार हजार दर्शक क्षमताका सीट भएपनि दशरथ रङ्गशाला मर्मत कार्य भइरहेकोले कम मात्र टिकट बेचिएको एन्फाले जनाएको छ ।

टिकटको मूल्य विशिष्टमा रु एक हजार ५०० र साधारणका लागि रु सात सय रहेको छ । गत संस्करणको तुलनामा यो क्रमशः रु पाँच सय र दुई सयले वृद्धि हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको आर्थिक विभागको सल्लाहबमोजिम नै टिकटको मूल्य बढाइएको र त्यो रकम फुटबल विकासकै लागि प्रयोग गरिने एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले बताउनुभयो ।

खेलका लागि हिजो साँझ नै भारतीय टोली नेपाल आइसकेको छ ।