छात्रा दुर्व्यवहार गरेको भन्दै शिक्षकलाई कुटपीट, प्रहरी र प्रदर्शनकारीबीच झडप

फागुन २९,  मकवानपुर-मकवानपुरको हेटौंडा उपमहानगरपालिका पशुपतिनगरमा छात्रालाई दुर्व्यवहार गरेको भन्दै  एक शिक्षकलाई विद्यार्थी र अभिभावकले कुटपीट गरेका छन् । प्रगति उच्च माध्यमिक बिद्यालयका शिक्षक टेकप्रसाद पौडेलले बिद्यालयमा कक्षा १० मा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावकले उनलाई कुटपीट गरेका हुन् ।

शिक्षक पौडेललाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लैजाँदा स्थानीय बासिन्दा र विद्यार्थीले कुटपीट गरेपछि प्रहरीसँग झडप भएको थियो । झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।

छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकलाई बचाउन खोजेको भन्दै स्थानीय बासिन्दाले ईलाका प्रहरी कार्यालय पशुपतिनगरको बा १ झ ७४४६ नम्बरको भ्यान र शिक्षक पौडेलको मोटरसाईकल पनि तोडफोड गरेका छन् ।

झडप नियन्त्रणमा लिनका लागि प्रहरीले आज चार सेल अश्रुग्याँस समेत हानेको थियो । शिक्षक पौडेलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ । छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकलाई कडा कार्बाहीको माग गर्दै प्रदर्शन भएको छ ।

पक्राउ परेका शिक्षकलाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको जनाएको छ । ६ महिना अघिदेखि ती छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको अभिभावकको आरोप छ । छात्राले अभिभावकलाई शिक्षकले गरेको दुर्व्यवहार गरेको जानकारी गराएपछि घटना सार्वजनिक भएको हो ।