रुसका विपक्षी नेता नोम्त्सोभको हत्यामा संलग्नलाई अदालतमा पेश

फागुन २५, काठमाडौं – रुसी अदालतले विपक्षी नेता बोरिस नोम्त्सोभको हत्यामा संलग्न रहेको भन्दै दुई जनाविरुद्ध आरोप तय गरेको छ । हत्या आरोपमा संलग्न भएको आशंकामा अदालतसमक्ष पेश गरिएका पाँच मध्ये दुई जनाविरुद्ध आरोप तय गरिएको हो ।

हत्याको आरोप लगाइएकामा पूर्व प्रहरी अधिकृतसमेत रहेका जुआर दादायेभसमेत छन् । यी पाँचै जना मुस्लिम बहुल ककेशिया इलाकाका हुन् । दादायेभले हत्यामा आफ्नो संलग्नता स्वीकारेका छन् । नेम्त्सोभको हत्या कसैले पैसा दिएर गराएको अभियोजकले बताएका छन् ।
चेचन्याका राष्ट्रपति रमजान कादीरोभले दादायेभ एक सच्चा मुसलमान भएको तर शार्ली हेब्दो पत्रिकामा पैगम्बर मोहम्मदको कार्टून छापेपछि भने निकै बेखुशी देखिएको बताएका छन् । नेम्त्सोभको गत हप्ता मस्कोमा गोली हानी हत्या गरिएको थियो ।