राजनीतिक दलहरुबाट ओखरपौवामा फोहोर फ्याँक्न अवरोध, गर्मीसँगै अब राजधानी दुर्गन्धित हुँदै

फागुन ११, नुवाकोट- राजधानी काठमाडौंको फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटको ओखरपौवा–४ सिसडोलमा स्थानीय राजनीतिक दलहरुको अगुवाईमा फोहोर फ्याँक्न अबरोध गरिएको छ ।

नेपाली कांग्रेसका अर्जुन न्यौपाने संयोजक र नेकपा एमालेका जीतबहादुर बलामी सहसंयोजक रहेको स्थानीय राजनितिक दलहरुको सरोकार समितिले आज विहानैबाट फोहोर फाल्न अबरोध गरेको हो । विहानैबाट दलहरुको नेतृत्वमा सिसडोलमा फोहोर फ्याँक्न अबरोध गरि राजधानीबाट फोहोर बोकेर आएका गाडीहरुलाई राजधानी नै फिर्ता पठाइएको स्थानीय महालक्ष्मी क्लबका अध्यक्ष समीर बलामीले जानकारी दिनुभयो । ओखरपौवामा दैनिक साना ठूला १ सय ५६ वटा गाडीबाट फोहोर ल्याउने गरिन्छ ।
राजनितिक दलका स्थानीय नेताहरुले पाच सुत्रीय माग राखि फोहोर फाल्न अबरोध गरेका हुन् । अवरोधकर्ताहरुले ओखरपौवा र धादिङको छत्रेदेउराली गाविसको विकास निर्माणको लागि काठमाडौं महानगरपालिकाले वार्षिक एक करोड रुपैया अनुदान उपलब्ध गराउँदै आएकोमा अब अनुदानलाई बढाएर वार्षिक दुई करोड बनाउनु पर्ने, सिसडोलको डम्पिङ साइट बन्द गरि एक किलोमिटर तल रहेको बञ्चरेमा डम्पिङ साइट बनाउनु पर्ने, विगतमा नेपाल सरकारका मुख्यसचिवसँग ओखरपौवाको दुई माविलाई उच्चमावि बनाउने र ग्रामीण बाटोको कालोपत्रे गरिदिने भनि भएको सहमतिलाई तत्काल कार्यन्वयन गराउनु पर्ने, अर्जुन न्यौपाने संयोजक र जीतबहादुर बलामी सहसंयोजक रहेको स्थानीय दलका प्रतिनिधीहरुको समितिलाई फोहोर व्यवस्थापनको सम्पूर्ण जिम्वेवारी दिनु पर्ने, डम्पिङ साइटका वरपरका जग्गाको अधिग्रहण गर्नु पर्ने लगायत मागहरु राखेका छन् ।
तीन वर्षको लागि सिसडोलमा फोहोर फाल्ने भनिएकोमा सात वर्ष वित्दापनि बन्चरेमा सार्न चासो नदिएको र अनुदान पनि धेरै वर्ष बितिसके पनि काडमाडौं महानगरपालिकाले बढाउन नमानेको आन्दोन गर्न परेको नेकपा एमालेका स्थानीय नेता जीतबहादुर बलामीले बताउनुभयो ।
यस अघि काडमाडौं महानगरपालिकाले सिसडोल भन्दा १ किलोमिटर तल बञ्चरेमा विसौं वर्षसम्म फोहोर फाल्न सकिने भन्दै सिसडोललाई तीन वर्षमा बन्द गरि बन्चरेमा फाल्ने योजना बनाएको भए पनि अझै कार्यन्वयन नभएको स्थानीयको भनाई छ ।