‘गणेशमान बलिदान अभियान’ आजदेखि शुरु

फागुन ७, काठमाडौँ-नेपाली कांग्रेसले सर्वमान्य नेता गणेशमान सिंहको जन्मशताब्दीको अवसरमा आजदेखि ‘गणेशमान बलिदान अभियान’ शुरु गर्ने भएको छ । कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज शुरु गर्ने अभियान चैत २६ गते समापन हुने तय गरिएको मुख्य सचिव श्रृषीकेश तिवारीले जानकारी दिए ।

अभियानका क्रममा राणा शासनविरुद्ध लाग्दा भद्रगोल जेल पर्नुभएका सिंहले त्यसलाई तोड्दै भारत प्रस्थान गर्ने क्रममा यात्रा गरेको जिल्लाहरुमा पदयात्रा गरिने भएको छ । त्यसका लागि आज काठमाण्डुको शान्तिबाटिकाबाट शुरु हुने यात्रा फागुन २३ गते भैरहवामा समापन गरिने पनि सचिव तिवारीले बताए  ।