ठूला उद्योगीद्वारा बिजुली चोरी

फागुन ७, काठमाडौँ-विद्युत् प्राधिकरणका प्राविधिक र ठूला ग्राहकको मिलेमतोमा व्यापक रूपमा विद्युत् चोरी हुने गरेको तथ्यांक फेला परेको छ। यसले मिटरमा बिजुली कम खपत भएको देखाएर प्राधिकरणलाई करोडौं रुपैयाँ नोक्सानीमा पार्ने काम भएको छ।

यसरी नोक्सानी गर्नेलाई प्राधिकरणले विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत फाइल उठाउनुपर्नेमा अधिकांश बिजुली चोर्ने ग्राहकलाई ‘छुट बिल’ को फाइल उठाएर उन्मुक्ति दिँदै आएको पनि खुलासा भएको छ।
ऐनअन्तर्गत फाइल उठाउँदा बिगोको शतप्रतिशत जरिबाना तिर्नुपर्छ भने छुट बिलअन्तर्गत अनुमानित ऊर्जा खपत गरेको तथ्यांकका आधारमा रकम तिरे पुग्छ। ‘बिजुली चुहावटका अधिकांश फाइल छुट बिलअन्तर्गत आउँछन्’, प्राधिकरण वितरण तथा ग्राहक सेवाका एक इलेक्ट्रिकल इन्जिनियरले भने।
प्राधिकरणले केन्द्रबाट विभिन्न क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण केन्द्रले वितरण गरेको मिटर छड्के जाँचका क्रममा मिटर बिगारिएको, मिटरमा खपत ऊर्जाको रेकर्ड उडाइएको, मिटरमा खपत हुने ऊर्जाको डिस्प्ले बन्द गरिएको, एउटा तार अर्कोमा जोड्नेजस्ता प्राविधिक गडबडी गराएर प्राधिकरणलाई नोक्सानी पु:याएको प्रतिवेदन अन्नपूर्णले पाएको छ।
प्रतिवेदनमा छड्के अनुगमन गर्दा खपत हुनुपर्ने ऊर्जाको रेकर्ड एक तिहाइमात्र भएको उल्लेख छ। यसलाई प्राविधिक भाषामा सीटी आउटेज र पीटी आउटेज भनिन्छ।
प्राधिकरणद्वारा कारबाहीको सट्टा ‘छुट बिल’ को फाइल उठाएर उन्मुक्ति
प्राधिकरणले ५० एमभीएभन्दा धेरै ऊर्जा खपत गर्ने ग्राहकलाई टाइम अफ डे (खपत समयअनुसार बिजुलीको भाउ फरक देखाउने) मिटर राखेको छ। यही मिटरलाई इलेक्ट्रिकल इन्जिनियरको सहायतामा ग्राहकले अनेक दाउमा कम बिजुली खपत गराएको देखाउने गर्छन्।
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले मिटरमा गडबडी गर्नेको अनुसन्धान भइरहेको र छानबिन गरी कारबाही गरिने बताए। ‘हामीले भर्खर यो अभियान सुरु गरेका छौं’, उनले भने, ‘आगामी दिनमा अभियान सशक्त रूपमा अघि बढ्नेछ।’
तीन साताअघि प्राधिकरणको केन्द्रीय कार्यालयअन्तर्गतको विद्युत् चुहावट तथा नियन्त्रण महाशाखाले गरेको फिल्ड अनुगमनमा अधिकांश ठूला उद्योगले कम बिजुली खपत गरेको देखिएको छ।
डिस्प्ले बन्द हुँदा तत्काल प्राधिकरणलाई जानकारी गराई बनाउनुपर्नेमा त्यसो नगर्दा ६ महिनादेखि सो उद्योगले खपत गरेको बिजुली कहीं रेकर्ड छैन।
विद्युत् चोरीमा डिस्प्ले आउटलाई सबैभन्दा खतरनाक र गम्भीर मानिन्छ। ‘डिस्प्ले आउट भएको सूचना प्राधिकरणलाई दिने चलन छैन। प्राधिकरणका प्राविधिक आफैंले नियमित अनुगमन गर्दैनन्’, एक इन्जिनियरले भने, ‘ठूला ग्राहकको मिटर नियमित रूपमा अनुगमन हुनुपर्छ।’
विराटनगरको आनन्द अल्ट्रा साउन्डको मिटर खोलेर यथाशीघ्र प्राविधिक सेवा विभागमा लैजान सुझाव दिइएको छ। १६० केभीएको स्वीकृत क्षमता लिएको उक्त उद्योगले गत साउनदेखि कात्तिकसम्म मिटर ‘स्टप मोड’ मा राखेको पाइएको छ।