युद्धविराम विपरीत युक्रेनमा लडाइँ जारी

फागुन ६, युक्रेन-पूर्वी युक्रेनका रुस समर्थक विद्रोहीहरुले भनेका छन्, युद्ध विरामको घोषणा भएको भएतापनि तिनीहरुले कडा लडाइँ भइरहेको नगर डेबाल्टसेभाका केही भागलाई आफ्नो नियन्त्रणमा लिएका छन्। युक्रेनमा गत हप्ता एउटा युद्ध विराममा सहमति भएको भएतापनि एउटा महत्वपूर्ण नगर डेबाल्टसेभाभित्र भीषण लडाइँहरु भइरहेको विवरणहरु प्राप्त भएका छन्।

विद्रोहीहरुले एउटा मुख्य यातायात संजालको रुपमा रहेको उक्त नगरको धेरै जसो भाग आफ्नो नियन्त्रणमा आएको बताएका छन् भने सरकारी पक्षले आफूहरु पछाडि नहटेको दावी गरेका छन्। युद्धविरामको पर्यवेक्षण गरिरहेका अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले आफूहरु सो नगरभित्र प्रवेश गर्न असफल रहेको बताएका छन्।

त्यसअघि, दुवै पक्ष युद्धविराम सहमतिमा उल्लेख भए अनुसार सोमबारसम्म आफूहरुका भारी अस्त्रहरु हटाउने कार्य सुरु गर्न असफल भएका थिए । विद्रोहीहरुले डेबाल्टसेभामा रहेका दर्जनौं युक्रेनी सैनिकहरुले आत्म समर्पण गरेको पनि दावी गरेका छन्, जुन कुराको सरकारले खण्डन गरेको छ। बिबिसी