सत्तापक्षसँग भित्रभित्रै सुटुक्क वार्ता गर्दैछन् प्रचण्ड

माघ २९, काठमाडौं- आन्दोलन घोषणा गरेर देशदौडाहामा हिँडेका एमाओवादी अध्यक्ष प्रचण्ड र मधेसी मोर्चाका नेता राजधानी फर्किएर सत्तापक्षसँग भित्रभित्रै वार्तामा लागेका छन् ।प्रचण्डले प्रधानमन्त्री सुशील कोइराला प्रतिनिधिका रुपमा कानुनमन्त्री नरहरि आचार्यसँग बुधबार दिउँसो कुरा गरे । मधेसी नेता विजय गच्छदार कहिले प्रधानमन्त्री त कहिले प्रचण्डसँग आन्तरिक वार्ताका लागि समन्वय गर्न सक्रिय छन् ।

सत्तासीन दलका नेतासँग एमाओवादी नेताले संधिवानसभाको प्रक्रिया रोक्न नसके पनि स्थगन गरेर वार्ताको वातावरण बनाउन आग्रह गर्दै आएका छन् । प्रचण्डले पनि आचार्यसँग तत्काल प्रक्रिया स्थगन भएको आशयको बक्तव्य प्रधानमन्त्रीबाट जारी भए वार्तामा बस्न सकिने धारणा राखेका थिए । प्रधानमन्त्रीको सन्देशसहित प्रचण्ड निवास लाजिम्पाट पुगेका आचार्यले आन्दोलन छाडेर वार्तामा बस्न आग्रह गरेका थिए ।