सभामुखसँगको भेटमा राष्ट्रपतिले भनेः विपक्षीलाई क्रस गरेर अघि नबढ्नु

माघ २८, काठमाडौं – राष्ट्रपति डा. रामवरण यादवले संविधान निर्माणमा विपक्षीलाई क्रस गरेर अघि नबढ्न सभाध्यक्ष सुवास नेम्बाङलाई आग्रह गरेका छन् । बुधबार बिहान आफूलाई भेट्न शीतलनिवास आएका सभामुखलाई राष्ट्रपति यादवले संविधान निर्माण जस्तो जटील र संवेदनशील विषयमा विपक्षीहरुलाई क्रस गरेर अघि नबढ्न सुझाएका हुन् । ‘विपक्षीहरुलाई क्रस गरेर ल्याउने संविधानले स्थायित्व प्राप्त नगर्ने भएकाले गर्दैन’, सभामुखसँगको राष्ट्रपतिको भनाइ उधृत गर्दै राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘सधैंभरी सत्ता र विपक्षीसँग साथ रहेका सभामुखले विपक्षीलाई संविधान निर्माणको मुल कार्यमा सहभागी गराउन भूमिका खेल्नुपर्यो‍ ।’

बुधबारको भेटघाट नियमित भएपनि संविधानसभामा अप्रत्यक्षरुपमा अवरोध भएको अवस्थामा यो भेट अझ महत्वपूर्ण रहेको छ । भेटका क्रममा संविधान निर्माण कार्यमा तेस्रो, चौथो र पाँचौ शक्ति बाहिरएको अवस्थामा संविधान निर्माण कार्य चुनौतिपूर्ण रहेको राष्ट्रपति र सभाध्यक्ष दुबैले स्वीकारेका थिए । सभाध्यक्षसँगको भेटका क्रममा राष्ट्रपति यादवले सरकारको कार्यशैलीबारे पनि पुनः असन्तुष्टी जनाएका थिए । राष्ट्रपतिले संविधान निर्माणजस्तो गम्भीर विषयमा सरकारले खासै चासो संकेत नदिएको संकेत सभामुखसँग गरेको दाबी स्रोतले गर्यो‍ ।

राष्ट्रपतिले सत्तपाक्ष–विपक्ष सबैसँगको सहमतिमा संविधान निर्माण हुनुपर्नेमा जोड दिएको सभाध्यक्ष नेम्बाङले बताए । ‘राष्ट्रपतिले संविधान निर्माणबारे चासो र चिन्ता राखे । संविधान निर्माणलाई सहमतिकै वातावरणमा ल्याउन आग्रह गरे’, सभाध्यक्ष नेम्बाङले राष्ट्रपति यादवको भनाइ उधृत गर्दै भने । आफूले राष्ट्रपतिसमक्ष संविधान निर्माणमा प्राथमिकता दिएको सहमतिकै प्रक्रियामा संविधान निर्माण अघि बढ्ने बताएको जानकारी नेम्बाङलाई दिए ।