दार्चुलामा दुई हजार तीन सय अपाङ्ग बालबालिका

माघ २८, दार्चुला- दार्चुलामा अपाङ्गता भएका बालबालिकाको सङ्ख्या दुई हजार ३०० रहेको एक तथ्याङ्कले देखाएको छ । जिल्ला बालकल्याण समिति दार्चुलाले हालै प्रकाशित गरेको बालबालिकाको स्थिति नामक प्रतिवेदनमा सो तथ्याङ्क देखाएको छ । जसमध्ये अपाङ्गता भएका बालिकाको सङ्ख्या एक हजार १८४ तथा बालकको सङ्ख्या एक हजार ११६ रहेको छ ।विभिन्न शारीरिक अपाङ्गता, दृष्टिविहीन, मानसिक अपाङ्गता भएका २४ बालिका तथा २८ बालक गरी कुल ५२ जनालाई यस वर्ष अपाङ्गता परिचयपत्र वितरण गरिएको जिल्ला बालकल्याण अधिकृत मनोरथ जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मध्यम खाले अपाङ्गता भएकाअर्थात् पहेँलो रङ्गको परिचयपत्र २९ जना बालबालिकाले प्राप्त गरेका छन् । पूर्ण अशक्त नौ जना, अतिअशक्त नौ जना र सामान्य अपाङ्गता भएका पाँच जनाले यो वर्ष परिचयपत्र लिइसकेको जोशीको भनाइ थियो ।यसैगरी प्रतिवेदनले जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकाको सङ्ख्या ९०९ जना रहेको देखाएको छ । समाजहित शिक्षा, स्रोत कक्षा र विशेष कक्षामा गरी ४२५ बालिका तथा ४८४ बालक अध्ययनरत रहेका छन् ।