एकै गाविसबाट एक अर्बको मखान बिक्री

माघ २२,   जनकपुरधाम- एउटै गाविसका किसानले मखान बिक्री गरी करिब रु एक अर्ब आम्दानी गरेका छन् ।मखानको पकेट क्षेत्र मानिने महोत्तरी जिल्लाको मटिहानी गाविसका किसानले वार्षिक यति परिमाणको मखान बिक्री गरी आर्थिक लाभ लिएका हुन् । मटिहानी गाविसमा एक सयभन्दा बढी घरपरिवारले नजिकको तालतलैया र पोखरीमा मखानखेती गरी रु एक अर्ब मूल्यबराबरको मखान उत्पादन गरेको यसको खेतीमा संलग्न किसान कमलेश सहनीले बताए।

उद्योग वाणिज्य सङ्घ मटिहानीका अनुसार मखान खेतीमा संलग्न किसानले अघिल्लो वर्ष दुई सय हेक्टर क्षेत्रफलमा मखान खेती गरी रु एक अर्ब मूल्यबराबरको एक सय मेट्रिक टन मखान उत्पादन गरेका थिए ।यस गाविसमा रहेका सहनी जातिका किसान परापूर्वकालदेखि मखानको व्यावसायिक खेतीमा संलग्न छन् । ती किसानलाई प्रोत्साहन दिन नेपाल सरकार, लघु घरेलु तथा साना विकास कोष, नेपाल उद्योग वाणिज्य महासङ्घले रु एक लाख ५० हजार खर्च गरी २० जना किसानलाई मखान प्रशोधनसम्बन्धी तालिम दिएका छन् ।