रमेश खरेलको फाइलले गृहमा हंगामा, मन्त्रिपरिषदले नै गर्‍यो अमेरिका भ्रमण अनुमोदन

पुस १५, काठमाडौं -सानो काम गर्दा पनि ठूलो समाचार बन्ने प्रहरी अधिकृत हुन, एसएसपी रमेश खरेल । र, बेलाबेला विवादमा पनि परिरहन्छन् । एआईजी बढुवामा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक रुपमा भाषण गरेर विवादमा तानिएका उनी त्यसयता छायाँमै छन् ।

सेलिब्रेटी प्रहरी अधिकृत खरेलले बोलेको घटनाबारे छानबिन समिति गठन गरी कारबाहीको तयारी भए पनि पछि उनी कारबाही रोक्न सफल भएका थिए । सोही प्रकरणमा काठमाडौं प्रहरी परिसरबाट हटाइएका उनी पछिल्लो समय भरतपुर तालिम केन्द्रमा कार्यरत छन् ।

उनै एसएसपी खरेलको एउटा फाइलका कारण गृहमन्त्रालयमा गत साता केही तनाव भयो । खरेललाई एक संस्थाले अमेरिकामा निम्तो दिएको छ । विश्वका सफल युवाहरुको सम्मेलनमा सहभागी हुन खरेललाई जनवरीको तेस्रो साता बोलाइएको छ । उक्त कार्यक्रममा जाने अनुमतिका लागि खरेलले निवेदन दिएका थिए । उनलाई अनुमति दिने कि नदिने भन्नेमा गृहका अधिकारीहरुबीच विवाद भएको दृष्टि साप्ताहिकमा खबर छ ।

गृहसचिव सूर्य सिलवालसमेत सो विषयमा निर्णय गर्न डराए । खरेललाई स्वीकृति दिँदा गृहमन्त्री वामदेव गौतम रिसाउन सक्ने चिन्ता उनलाई रहेको थियो । किनभने, बेलाबेला मन्त्री गौतम र एसएसपी खरेलबीच सार्वजनिक रुपमा जुहारी चल्दै आएको छ ।

खरेलले आफूलाई भेट्नसमेत नआएको भनेर गौतमले गुनासो गर्दा त्यसको पत्युत्तरमा भेट्न आवश्यक नभएको भन्दै अन्तर्वाता दिएका थिए । दुई साताअघि अपराध दिवस मनाउने कार्यक्रममा पनि गौतमले मिडियामा बोल्दा प्रहरी अधिकारीहरुसँग जुहारी चल्ने गरेको भन्दै उनले आफू बोल्न छाडेको बताएका थिए । तर, अमेरिका जानलाई भने मन्त्री गौतमले राक्न चाहेनन् । सामान्य किसिमको विषय भएपछि खरेलको अमेरिका भ्रमण मन्त्रीस्तरबाट निर्णय भएको स्रोतले बताएको छ ।