१३ औं आहा रारा गोल्डकप माघ २० गते देखि

पुष ६, काठमाडौँ – १३ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता यहि माघ २० गतेदेखि पोखरामा हुने भएको छ । फागुन २ गतेसम्म सञ्चाmन हुने प्रतियोगीतामा १२ टिमको सहभागीता रहने आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, पूर्वाञ्चल र पश्चिमाञ्चलका क्लब तथा विदेशी टिम र सहारा क्लब सहभागिता रहने छ ।

१२ दिनसम्म हुने प्रतियोगिताको विजेता र उपविजेतालाई नगदसहित पुरस्कारको व्यवस्था गरिएको छ भने सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट टिम कोच, उत्कृष्ट गोलकिपर, म्यान अफ दि म्याच र फेयर प्लेलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक सहारा क्लव पोखराका अध्यक्ष विरभद्र आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगिताको पुरस्कार राशी भने अहिले तोकिएको छैन । गएको वर्षको भन्दा नघटाउने र त्यो भन्दा पनि कति बढाउन सकिन्छ भन्ने विषयमा छलफल भैरहेको र छिट्टै पुरस्कारको राशी पनि सार्वजनिक गरिने आचार्यले बताउनुभयो । गएको बर्षको विजेताले ३ लाख ५१ हजार रुपैया नगद सहित ट्रफी प्राप्त गरेको थियो भने उपविजेताले २ लाख १ हजार रुपैया नगदसहित ट्रफि पाएको थियो । २०५८ सालमा क्याराभान गोल्डकप आयोजना गरेर सुरु भएको प्रतियोगिता त्यसपछिको दश पटकसम्म आहा गोल्डकप र त्यसपछि आहा रारा गोल्डकपको नामबाट हुदै आएको छ ।