सोमबार घाम लागे पनि पश्चिमी वायुका कारण चिसो अझै बढ्ने

मङ्सिर २९, काठमाडौँ-पश्चिमी वायुको प्रभाव सकिएर आज मुलुकभरको मौसममा सामान्य सुधार आएपनि उक्त वायु पुनः सक्रिय हुँदै गएका कारण अझै केही दिन मौसम बदली भई चिसो बढ्ने अनुमान गरिएको छ । अरब सागरबाट पाकिस्तान, जम्मु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट प्रवेश गरेको वायुका कारण मौसम बदली भई पानी पर्दा आइतबार काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको थियो ।

पश्चिमी वायुको प्रभाव सकिएर आज देशको मध्यभागमा मौसम सफा रहेपनि पश्चिमी र पूर्वी भेगका केही स्थानमा मध्याह्नपछि हल्का बादल छाएपनि पश्चिमी वायु पुनः सक्रिय भएकाले यो समस्या आएको मौसम पुर्वानुमानमहाशाखाले जनाएको छ ।

शाखाका अनुसार अरब सागरबाट अफगानिस्तान, जम्मु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट आज पश्चिमी वायु प्रवेश गरेकाले क्रमशः मौसम बदली भई चिसो बढ्दैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम न्यूनतम ३।५ तथा अधिकतम १७ डिग्री सेल्सियस रहेको छ ।