चीनले तोक्यो सार्क प्रतिनिधि

काठमाडौँ – दक्षिण एसियाली सहयोग संगठन–सार्कसँग सम्बन्ध बलियो बनाउने प्रयासमा रहेको चीनले बेइजिङमा पहिलो पटक सार्क प्रतिनिधि नियुक्त गरेको छ।काठमाडौँमा १८ औँ सार्क सम्मेलन समापन भए लगत्तै शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयीङले सार्कसँग सम्बन्ध थप बलियो बनाउन चीन इच्छुक रहेको दोहोर्यासइन।
‘चीनले सार्कसँग सम्बन्ध विकासलाई उच्च महत्व दिएको छ र दक्षिण एसियाली देशहरूसँग आदान–प्रदान तथा सहयोग वृद्धि गरेको छ’, काठमाडौँमा सार्क सम्मेलन सफल भएकोमा बधाई दिँदै प्रवक्ता हुवाले भनिन् ‘सार्कसँग सम्बन्ध बलियो बनाउने क्रममा चीनले हालै सार्क प्रतिनिधि मनोनित गरेको छ।’
बेइजिङस्थित स्रोतका अनुसार सार्क सम्मेलनलाई उच्च महत्व दिएर उप विदेशमन्त्री लीउ झेनमीनको नेतृत्वमा पर्यवेक्षक टोली काठमाडौँ पठाएको चीनले यो क्षेत्रीय संगठन हेर्न पहिलो पटक प्रतिनिधि तोकेको हो। विदेश मन्त्रालयले प्रतिनिधिको नाम खुलाएको छैन तर सार्कलाई बेइजिङले अझै नजिकबाट हेर्न खोजेको स्पष्ट संकेत गरेको छ।
नौ वर्षअघि नेपालको प्रस्तावमा पर्यवेक्षक बनेदेखि नै चीनले सार्क सदस्यको लागि प्रयास गर्दै आएको छ। चीन सरकारले प्रष्ट रुपमा सदस्य बन्ने प्रस्ताव नगरे पनि पाकिस्तान र नेपाल मार्फत् आफ्नो पहल अगाडि बढाउन खोजेको छ। तर सार्कमा चीनलाई सदस्यकै रुपमा भित्र्याउन तयार नभएको जनाउ भारतले यसपटक पनि काठमाडौँमा दिएको छ। आजको अन्नपुर्णमा खबर छ ।