इबोलाले सियरालियोनका चिकित्सकको मृत्यु

मंसिर ३, बीबीसी-अमेरिकको नेब्रास्का राज्यको नेब्रास्का मेडिकल सेन्टरमा सोमबार बिहान सियरालियोनका शल्यचिकित्सक ४४ वर्षे मार्टिन सालियाको मृत्यु भएको छ । उनलाई शनिबार उपचारका लागि अमेरिका ल्याइएको थियो । उनले अमेरिकीसँग बिहे गरेर घरजम गरेका थिए । इबोला भाइरसले अमेरिकामा ज्यान गुमाउने उनी दोस्रो व्यक्ति हुन् । पूर्ण रूपले रोगको विकसित लक्षण कारण उनको मृत्यु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ल्याउँदै खेरि नै उनी अत्यधिक बिरामी र गम्भीर अवस्थामा रहेको अस्पतालले जनाएको छ । उनको मिर्गौला र श्वासप्रश्वास प्रणालीले काम गर्न छाडिसकेको थियो ।

‘उत्कृष्ट प्रयासको बाबजुद दुर्भाग्यवश उनलाई बचाउन सकेनौं,’ अस्पतालका चिकित्सक डा.फिल स्मिथले भने । डा. सलियाकी श्रीमती इसातुले अमेरिकी सुविधा र उपचारको प्रशंसा गरेकी छन् । पर्याप्त सुविधा भएको उक्त सेन्टरमा दुई इबोला संक्रमितको सफल उपचार भइसकेको छ । उनी सियरालियोनको राजधानी पि|mटाउनको किसी युनाइटेड मेथोडिस्ट अस्पतालमा जनरल सर्जनको रूपमा कार्यरत थिए । उनी इबोला रोगीको उपचारमा संलग्न रहे/नरहेको स्पष्ट हुन सकेको छैन । अहिलेसम्म ज्यान गुमाउने ५ हजार बढीमा अधिकांश पश्चिम अपि|mकाकै छन् । अमेरिकामा नातेदारलाई भेट्न आएका लाइबेरियाका नागरिक टमस एरिक डंकनको गत महिना डल्लासमा मृत्यु भएको थियो ।