बाबु आमालाई थाहै नदिई त्रिशुलीमा पौडी खेल्दा तीन किशोर बेपत्ता

कार्तिक १७,काठमाडौं  – आइतबार बिहान ललितपुर नख्खिपोटस्थित घरमा पुग्दा १७ वर्षीय रेमण्ड थापाकी आमा गंगा अर्ध बेहोस अवस्थामा थिइन् । अघिल्लो दिन बिहान आफैंले बनाइदिएको खानेकुरा बोकेर बनभोज खान गएको छोरो साँझ त्रिशुलीमा बेपत्ता भएको खबर पाएकी उनी हिक्का छाडै रोइरहेकी थिइन् । घरभरी छर छिमेकी र नाता गोताको भिड थियो । सहानुभुति दिन आउनेहरुको लर्को लामै थियो । उनी खाटमा सुतिरहेकी थिईन् । आखाँबाट आशुँ र्झन रोकिएको थिएन । सहानुभुती र हौसला दिन आएका आफन्तको कुराले उनी झन भक्कानिथिन् । रुदाँ रुदै उनका आखाँ र अनुहार पुरै रातो र सुन्निएको थियो । तीन छोराकी आमा कान्छो छोरो खोलामा बेपत्ता भएको खबर सहन नसकेको प्रष्ट देखिन्थ्यो । उनी आफैँ मधुमेह र उच्च रक्तचापकी बिरामी पनि हुन् ।

त्रिशुलीमा शनिबार बनभोज खान गएका रेमण्ड सहित ३ जना लिलब बहादुर राई र सुलभ गुरुङ  बेपत्ता भएका आईतबार साँझसम्म पनि भेटिएनन् । छोराहरु खोलामा हराएको खबरपछि रेमण्डका बुवा मोहन थापा र काका कमल, सुलभ र लिलबका अभिभाबक त्यसतर्फ गए । अनि मलेखु प्रहरीमा खोजतलासीका लागि निवेदन दिए । अनि रात भरी त्यहि बसे । आईतबार सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयूक्त रुपमा ‘सर्च’ गर्दा तीनै जना फेला परेनन् । प्रहरीले शब फेला परेपछि खबर गर्ने बताएपछि उनीहरु काठमाडौं फर्किए । तर फर्किनु अघि उनीहरुले बगाएको ठाउँ देखी बेनीघाटसम्म खोजतलास गरे । ‘जिवित भेट्ने सम्भावना त सकियो’ रेमण्डका बुवाले भने ‘लास भए पनि चाडैं पाए हुनथ्यो, हाम्रो छोराहरुको शब फेला पारिदिने प्रहरी वा स्थानीयलाई हामी पुरस्कार दिन्छौं ।’

उनीहरुले खोलाले बगाएर लास हुत्याउन सक्ने स्थानका स्थानीयलाई आफ्नो सम्पर्क नम्बर दिएर आएका छन् । शब तैरिएको वा किनारमा फ्यालिएको देखे खबर गरिदिन अनुरोध गरेका छन् । प्रहरीले खोलाले बगाएका वा डुबाएका ब्यक्ति तुरुन्तै फेला नपर्ने बतायो । धादिङ प्रहरी प्रमुख नायब उपरिक्षक (डिएसपी) प्रकाश मल्लले शरिर भित्रको रगत सुकेपछि मात्र केहि दिनमा माथी तैरिने बताए । ‘तुरुन्तै भेटाउन गाह्रो छ’ उनले भने ‘२/४ दिनपछि फेला पर्छ ।’

रेमण्ड सहित ७ किशोरी र १४ किशोर शनिबार बनभोजका लागि शनिबार बिहान माईक्रो बसमा त्यसतर्फ हुईकिएका थिए । तिहारमा देउसी खेलेर उठेको झण्डै ४० हजार रुपैंयाले बनभोज योजना बनेको थियो । रेमण्डका काका कमलका अनुसार उनीहरुले सुरुमा दोलालघाट जाने प्रस्ताब सुनाए । सबैका अभिभाबकले अनुमति दिएनन् । अनि कुलेखानीको प्रस्ताब आयो । कुलेखानी पनि सानो बाटो भएकाले जान नदिएको उनले बताए । ‘काठमाडौं भित्रकै ठाउँमा जान भनिएको थियो’ उनले भने ‘तर थाहै नदिई त्रिशुली गएछन्, बेपत्ता भएको भनेर खबर आएपछि मात्र त्रिशुली गएको थाहा पायौं ।’ थापाले यिनीहरुले त्रिशुली जाने योजना अघिल्लो दिन नै बनाएको अनुमान गरे । सुलभका बुवा लेखराज गुरुङले पनि छोरो त्रिशुली जाने थाहा नभएको बताए । ‘मलाई बनेपा जाने भनेका थिए’ उनले भने ‘उसलाई नख्खिपोट चोकमा छाड्न जादाँ समेत टाढा नजानु भनेर संझाएको थिएँ ।’ सुलभकी आमा पनि उस्तै हाल छ ।  कान्तिपुर  दैनिकले खबर छापेको  छ ।

धादिङ प्रहरीका अनुसार धादिङको मलेखु स्थित त्रिशुली खोला किनारमा बसेर उनीहरुले बनभोज खाएका थिए । अरु खाने कुरा लिएर गएका उनीहरुले खोला किनारमा चिकेन ससेज र सेकुवा पोलेर खाए । अनि पौडिन खोलामा गए । सुरुमा निलब राई खोलामा हामफालेका थिए । एकैछिन पौडिएका उनलाई खोलाले बगाएपछि रेमण्ड र सुलभ सहित पाँच जना राईलाई बचाउन खोलामा हामफाले  । केहि बेर पौडिएपछि अरुण तुम्बापो, जीवन राई र आर्दश लिम्बु फर्किए । तर रेमण्ड र सुलभ फर्किन सकेनन् । यो खोलामा रेमण्ड, लिलब र सुलभ मात्र होईन, अरु थुप्रैले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार २०७० मंसिर २२ देखी हालसम्म शनिबार बाहेकका ४ जनाको ज्यान गएको छ । त्यसरी ज्यान गुमाउने पौडी खेल्न, नुहाउन, बसबाट ओर्लिएर पिसाब फेर्न जाने लगायत छन् ।