तारादेवीजस्तै बन्‍न मन लाग्थ्यो : मिलन अमात्य।को कुराकानी:

पछिल्लो समयमा आधुनिक र चलचित्रका गीतमा चलेकी गायिका हुन्, मिलन अमात्य। भारतको आसाममा हुर्केकी मिलनले नेपाली संगीतमा आफ्नो स्थान बनाउन सफल भएकी छन्। प्रस्तुत छ, सुमधुर स्वरकी धनी मिलनसँग अन्‍नपूर्णकर्मी विनीता मरहट्टाले गरेको कुराकानी:
पछिल्लो समयमा के मा व्यस्त हुनुहुन्छ? 
केही दिन अघिमात्र बजारमा आएको एल्बम ‘मधुर मिलन’ को प्रवर्द्धनमा व्यस्त छु। यसमा रहेका पाँचवटै गीतमा राम्रो प्रतिक्रिया पाइरहेकी छु। एल्बमको प्रवर्द्धनसँगै कार्यक्रम, रेकर्डिङमा पनि उत्तिकै व्यस्त छु। केही दिन अघिमात्र मलेसियामा कार्यक्रम गरेर आएँ। अब केही दिनमै कार्यक्रमका लागि हङकङ र कतार जाँदैछु।
दिनमा कतिवटा गीत रेकर्ड गर्नुहुन्छ? 
दिनमा एउटा मात्र गीत रेकर्ड गर्छु। साह्रै हतार भए दुईवटासम्म गर्छु। घाँटीलाई आराम चाहिन्छ त्यसैले एउटाभन्दा बढी रेकर्डिङ हुँदैन।
जाडोमा त गीत कम गाउनुहुन्छ होला नि? 
तातोपानी खाने, चिसोबाट बचेपछि केही हुँदैन। जाडो भनेर गीत नगाई बस्ने गर्दिनँ।
कस्तो खालको गीत गाउन मन पर्छ? 
सबै खालका गीत गाउन पाए हुन्थ्यो जस्तो लाग्छ। केही समयअघि मात्र लोकशैलीको गीत पनि गाएँ। अब अरू शैलीका गीत पनि गाउन चाहन्छु।

मन पर्ने गायक गायिका? 
तारादेवी, लता मंगेशकर, नारायणगोपाल, दीप श्रेष्ठ।
संगीत सिक्दा को जस्तो बन्न मन लाग्थ्यो? 
तारादेवी जस्तो बन्न मन लाग्थ्यो। उहाँको आवाजमा जस्तो क्वालिटी छ म पनि त्यस्तै क्वालिटी दिन चाहन्छु।
कस्तो संगीत मन पर्छ? 
मेलडियस गीत संगीत सुन्ने गर्छु। पुरानादेखि नयाँ गीत सबै सुन्छु। गीतको मेलोडीले मलाई छुन्छ।
अर्को एल्बम कहिले आउँछ? 
नयाँ एल्बमको तयारी गरिरहेकी छु। जसमा योगेन्द्रमणि दाइको शब्द  र  राजु सिंहको संगीत रहेको छ।  अहिले एरेन्ज भइरहेको छ। बजारमा आउन ६ महिना जति लाग्छ होला।

– See more at: http://annapurnapost.com/News.aspx/story/1600#sthash.IuAjP2hI.dpuf