बल्खुका बथानमा अर्को बबाल

 कात्तिक १२,काठमाडौं-राजनीतिमा बाहिर जे देखिन्छ भित्र त्यस्तो नहुँदो रहेछ । एमालेको महाधिवेशन सम्पन्न भएर भर्खरै नयाँ विधान छापिएको छ । यता महाधिबेशनमा देखिएको समिकरणमा भित्रभित्रै चिरा फाट्दै जान थालेको छ । अध्यक्ष र महासचिवको योजना र सल्लाहमा पार्टी चल्नुपर्ने हो । तर महासचिव इश्वर पोखरेलले अर्को महाधिबेशनलाई ध्यानमा राखी ग्राण्डी अस्पतालनजिकै सम्पर्क कार्यालय चलाएको भनी अध्यक्ष केपी ओलीको कान फुकिएको छ । पार्टीको त्यत्रो केन्द्रीय कार्यालय छँदाछँदै कार्यकर्ता भेटघाट,परिचालन र गुट सञ्चालनका लागि महासचिवले नयाँ कार्यालय खोलेको कुरा अध्यक्षसमक्ष पुर्याएर समयमै इश्वरलाई उचित आकारमा ल्याउन उक्साइएको छ । यसकै कारण हुनसक्छ, अहिले अध्यक्षले अन्तरपार्टी बैठकमा इश्वरलाई साथ दिन कम गरेको पाइएको छ । कहिले उपाध्यक्ष विद्या भण्डारी त कहिले अग्नी खरेलले अध्यक्षलाई यस्ता बैठकमा साथ दिने गरेका छन् ।

यसैगरी,केपी समूहमै रही उपमहासचिव बनेका विष्णु पौडेललाई पनि अध्यक्षबाट टाढा पुर्याउन चाहने समूहले केही हद सम्म भए पनि सफलता हासिल गरेको छ । पौडेलकै कारण राज्यव्यवस्था समितिको सभापति हुनबाट विद्या भण्डारीले बञ्चित हुनुपरेको भनी अध्यक्ष र उपाध्यक्ष दुबैलाई भड्काइएको छ । पार्टीभित्रकै अध्यक्षनिकट केहीले पौडेललाई ‘मारबाडी कामरेड’ भन्दै यिनले जति बेला पनि धोका दिन सक्छन् भनी कुरा लगाएका छन् ।