लगानीकर्तालाई तिहारको शुभ समाचार, अन्तिम दिन करिब पाँच अंकले बढ्यो बजार

काठमाडौं-तिहार बिदा अघिको अन्तिम दिन सेयर बजार सुचक नेप्से करिब पाँच अंकले बढेको छ । अन्तिम आधा घण्टाको कारोबारमा नेप्से परिसूचक उकालो लगेको हो । नेप्से परिसूचक बढेर ९२८ बिन्दु आसपासमा आइपुगेको छ ।

सबै समूहको परिसूचकमा सुधार भएपछि बजार बढेको हो । बीमा, जलविद्युत् र होटेल समूहको परिसूचक उच्च अंकले बढेको छ । तिहार सकिएपछि बजार बढ्छ भन्ने मनोविज्ञान बढेकोले नेप्सेमा सुधार देखिएको हो ।
करिब २५ करोड रुपैयाँको सेयर यस दिन किनबेच भएको छ । माछापुच्र्छे, लक्ष्मी, ग्राण्ड बैंक , नेपाल लाइफ, नेशनल लाइफ, प्राइम लाइफ, सूर्या लाइफ लगायतका कम्पनीको धेरै रकमको कारोबार भएको छ। तर कुनै कम्पनीको पनि दुई करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छैन । लाभांश लिने समय बाँकी भएका वा घोषणा हुन बाँकी रहेका कम्पनीहरुको कारोबार बढेको देखिन्छ।
बोनस सेयर समायोजनपछि पनि कुमारी बैंकको सेयर मूल्य सात रुपैयाँले बढेको छ । मंगलवार पाँच सय ७० रुपैयाँमा कारोबार भइरहेको बैंकको बोनस सेयर समायोजनपछि मूल्य ४२९ कायम गरिएको थियो । तर करोबारको क्रममा मूल्य थप सात रुपैयाँले बढेर ४३६ रुपैयाँ पुगेको छ ।

मूल्य बढ्नेमा बीमा कम्पनी, वाणिज्य बैंक, लघुवित्त कम्पनीको बाहल्यता रहेको छ । एक सय २७ कम्पनीको सेयर करोबार भएकोमा ७२ कम्पनीको सेयर मूल्य बढेको छ । ४३ कम्पनीको भने सेयर मूल्य घटेको छ। एडी रेसियोको आधारमा हेर्दा बजार बुलिश प्रवृत्ति मै रहेको छ । अधिंकाश कम्पनीको सेयर मूल्य दुई देखि नौं प्रतिशतसम्म बढेको छ । घट्ने धेरै कम्पनीको मूल्य दुई प्रतिशतभन्दा कमले परिर्वतन भएको छ ।

युनाइटेड फाइनान्सको बोनस सेयरको दर बढेको छ । यसअघिको कम्पनीको बैठकले १० प्रतिशत बोनस र ५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा सच्चयाएर १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश दिने भएको छ ।