खाडीमा ज्यान गुमाएकाको शव ल्याउन ढिलाइ नगर्न निर्देशन

कात्तिक ५, काठमाडौँ -अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले रोजगारीको क्रममा साउदी अरब, कतारलगायतका खाडी मुलुकमा गएर ज्यान गुमाएका श्रमिकहरुको शव ल्याउन ढिलाइ गर्नुको कारण बारेमा सात दिनभित्र लिखित जवाफ दिन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले बुधबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र श्रम तथा रोजगार सचिव भोला सिवाकोटीसँगको छलफलपछि विभिन्न मुलुकमा अलपत्र अवस्थामा रहेका शव ल्याउन ढिलाइ गर्नुको कारण लिखित रुपमा पेश गर्न निर्देशन दिएको हो । सरकारका अनुसार रोजगारीका लागि गएका श्रमिकहरुको ४४ वटा शव विभिन्न मुलुकमा अलपत्र अवस्थामा छन् । बैठकमा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले कानूनी जटिलताका कारण समयमा नै शव ल्याउन नसकिएको बताउनुभयो ।

रोजगारीका लागि हाल कतार, साउदी अरब लगायतका मुलुकमा ३० लाख नेपाली कार्यरत छन् । ती मुलुकबाट हरेक दिन ४ जनाको शव नेपाल आउने गर्छ । समितिले खाडी मुलुकमा अलपत्र अवस्थामा रहेका श्रमिकको शव ल्याउन यसअघि पनि श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको थियो । आफ्नो निर्देशन कार्यान्वयन नभएपछि समितिले बुधबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई बोलाएर कुन श्रमिकको शव के कारणले नल्याएको भन्ने बारेमा लिखित जवाफ दिन निर्देशन दिएको हो ।

समितिले विदेशमा अलपत्र अवस्थामा रहेका श्रमिकको शव जतिसक्दो छिटो ल्याउने व्यवस्था गर्नका लागि विदेशीस्थित आफ्ना नियोगहरुलाई जवाफदेही बनाउन परराष्ट्र मन्त्रालयलाई पनि निर्देशन दिएको छ । नेपाली नियोगहरुले आफ्ना श्रमिकको शव नेपाल पठाउने बारेमा जवाफदेहीता बहन नगरेको निष्कर्षसहित समितिले शवको विवरण अब आइन्दा नियमित रुपमा पठाउने व्यवस्था गर्न निर्देशन दिएको हो । उज्यालोमा खबर छ । समितिले विदेशमा आफ्ना श्रमिकको शव अलपत्र पर्ने अवस्था आउन नदिनका लागि १५ दिनभित्र शव पठाउने प्रावधान राखेर मलेसिया र खाडी मुलुकहरुसँग श्रम सम्झौताको प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएको छ ।