वाशिङ्गटन पोष्टका सम्पादको निधन

कात्तिक ५, एजेन्सी-वाशिङ्गटन पोष्टका पुर्व सम्पादक बेन ब्राडलीको  निधन भएको  छ । ब्राडलीको  ९३ बर्षको उमेरमा गएराति  निधन भएको बिबिसीले जनाएको  छ । ब्राडली वाटरगेट काण्डका समयमा अमेरिकाबाट प्रकाशित हुने वाशिङ्गटन पोष्टमा सम्पादकको हैसियतमा कार्यरत थिए ।  विश्वको पत्रकारिताको इतिहासमानै उक्त वाटरगेट काण्डलाइ निकै चर्चित मानिन्छ । ब्राडलीकै सम्पादकत्वमा निस्कने उक्त पत्रिकामा राष्ट्रपति रिचार्ड निक्सनसमेत संलग्न रहेको वाटरगेट काण्ड प्रकाशित भएपछि सन् १९७४ मा निक्सनले राष्ट्रपति पद नै गुमाउनु परेको थियो । अमेरिकी इतिहासमा आजका दिन सम्म निक्सननै त्यस्ता राष्ट्रपति हुन जसले यस्तो काण्डमा फसेर राजीनामानै दिनु परेको थियो । रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकाको ३७ औं शक्तिशाली राष्ट्रपति बनेका उनले वाटरगेट काण्डमा संलग्नता पुष्टिसँगै संसदबाट महाभियोग लाग्ने करीब निश्चित देखेपछि राजीनामा गरेका थिए । ब्राडलीको निधन उनकै घरमा भएको कुरा उक्त् पत्रिकाले जनाएको छ । ब्राडलीले सम्पादक रहेको अवधि सन् १९६८ देखि ९१ मा वाशिंङ्गटन पोष्टलाई अमेरिकाकै एक सम्मानित पत्रिकाका रुपमा समेत स्थापित गरेका थिए ।