सुध्रदै हो त वीर अस्पताल

कात्तिक ५,काठमाडौं -उपकरण र जनशक्ति व्यवस्थापन अभावमा वार्षिक २० करोडभन्दा बढी घाटामा रहेको वीर अस्पतालमा सुधारको संकेत देखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।  उपचार सेवा प्रभावकारी बनाउन अस्पताल प्रशासनले नयाँ उपकरण भित्र्याउने र डाक्टर नभेटिने समस्या समाधान गर्न लागेको छ ।
अस्पताल प्रशासनले अत्यावश्यक उपकरण खरिद प्रक्रिया थालेको छ भने जनशक्ति व्यवस्थापनमा समेत कडाइको तयारी गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०ले उपकरण तथा जनशक्तिको व्यवस्थापन गरी उपचार सेवा प्रभावकारी बनाउन केही समयअघि निर्देशन दिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा। स्वयंप्रकाश पण्डितले मेसिन तथा उपकरणहरू केही आइसकेको र केही आउने क्रममा रहेको जानकारी दिए । उनले नयाँ पत्रिकासँग भने, ‘सी आर्म मेसिन, कम्प्युटराइज तथा डिजिटल एक्सरे, अपरेटिङ माइक्रोस्कोप आइसकेको छ । सिटी स्क्यान, एमआरआई, क्लियालगायतका मेसिनहरू आउने प्रक्रियामा छन् ।’

जनशक्ति व्यवस्थापनका लागि विद्युतीय हाजिरीको व्यवस्था मिलाएको पनि कार्यकारी निर्देशक डा। पण्डितले बताए । उनले भने, ‘चिकित्सक तथा कर्मचारीलाई कार्यालयअवधिभर राख्न विद्युतीय हाजिरीको व्यवस्था मिलाउँदै छौं ।’ ११ कात्तिकदेखि वीर अस्पतालमा विद्युतीय हाजिरीको व्यवस्था हुँदै छ ।

विद्युतीय हाजिरीको व्यवस्था गरेपछि कार्यालय समयमा डाक्टर नभेटिएको गुनासो कम हुने पण्डितको भनाइ छ । ‘बिरामी आउँदा डाक्टर छैन । प्रशासनिक काम गर्ने कर्मचारी छैन भन्ने गुनासो थियो,’ उनले भने, ‘अब आउँदारजाँदा विद्युतीय हाजिरी गर्नुपर्ने हुन्छ । यसले पूरा समय बस्नैपर्ने बाध्यता बनाउँछ ।’

अस्पतालले वंशाणुगत रोग पत्ता लगाउन ‘जेनेटिक ल्याब’ खोल्ने तयारी गर्दै छ । यसका लागि विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०लाई सहयोगको प्रस्ताव पठाइसकेको न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले बताए । ‘जेनेटिक ल्याब स्थापना गर्न धेरै खर्च लाग्ने भएकाले सहयोगका लागि आग्रह गरेका हौँ,’ गुरुङले भने, ‘डब्लुएचओ पनि सकारात्मक छ ।’ ल्याब स्थापना भएपछि वंशाणुगत रोग पत्ता लगाउन विदेश पठाउनुपर्ने बाध्यता हट्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिटी स्क्यान मेसिन उपलब्ध गराउने भएको छ । सो मेसिन तिहारलगत्तै अस्पतालमा आइसक्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। सेनेन्द्रराज उप्रेतीले बताए । मेसिन राख्ने स्थान भने अस्पतालले तयार गरिसकेको छ । वीर अस्पतालमा दुई वर्षदेखि सिटी स्क्यान बिग्रिएर सेवा बन्द छ ।