वियाग कपको उपाधि रौतहटलाई

कात्तिक ३, रौतहट– वियाग कप यु–१७ बालिका फुटबल प्रतियोगिताको उपाधि रौतहटले जितेको छ। आइतबार भएको फाइनलमा काठमाडौंलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै रौतहटले एक लाख नगदसहित ट्रफी हात पारेको छ। प्रतियोगितामा दोश्रो भएको काठमाडौंले ५० हजारसहित कप पायो। घरेलु दर्शकको ठूलो साथ पाएको रौतहटले निकै आकर्षक खेल खेल्यो। यद्यपि अग्रता लिन उसले २९ मिनेट कुर्नु पर्‍यो।
निर्मला केसीले रौतहटका लागि पहिलो गोल गरिन्। तीन मिनेट नबित्दै रौतहटकी कप्तान सुनिता योन्जनले अर्को गोल थपिन्। मध्यान्तरसम्म दुई शुन्यले अघि रहेको रौतहटका लागि दोस्रो आफमा एलिशा जिम्बाले ह्याट्रिक गरिन्। प्रतियोगिताको दोस्रो ह्याटि्र गर्ने क्रममा उनले ५० औं, ५४ औं र ५८ औं मिनेटमा गोल गरिन्।’बालिका शिक्षामा लगानी बढाऔं’ भन्ने सन्देशसहित प्लान नेपालको सहयोगमा एन्फाले आयोजना गरेको १७ वर्षमुनिका बालिकाबीचको फुटबल प्रतियोगितामा रौतहटका खेलाडीको नियमित अभ्यासको प्रतिफल सहजै झल्किन्थ्यो।
विजेता र उपविजेता टोलीलाई रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले शिल्ड, कप तथा पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा सेमिफाइनलसम्म पुग्न सफल झापा र ताप्लेजुङले २५–२५ हजार नगद पुरस्कार पाएका थिए।यसैबीच प्रतियोगिताको उत्कृष्ट फरवार्ड एलिशा जिम्बा, उत्कृष्ट मिडफिल्डर मनिषा राउत, उत्कृष्ट डिफेन्स रजिना माझी रहे। उनीहरू सबै रौतहटका खेलाडी हुन्। यसैगरी उत्कृष्ट प्रशिक्षक रौतहटकै शेरबहादुर दर्लामीमगर घोषित भए। नागरिक दैनिकमा खबर छ ।