मन्दिरमा महिला पुजारी !

असोज १५, काठमाडौं -राजधानीको मरुटोलनिवासी ५७ वर्षकी बीना शाक्य पूजाका लागि सबेरै काष्ठमाण्डप परिसरमा रहेको धनुषा मन्दिर पुग्छिन । मानिसको चहलपहल सुरु हुनुअघि साढे पाँचबजेभित्र उनी मन्दिरबाट बाहिरिसक्छिन् । सोही टोलका धेरैलाई थाहै हुँदैन उनले मन्दिरमा पूजा गरेको । तान्त्रिक पूजा पनि गर्नसक्ने बीना वैदिक पूजामात्र गर्ने गरेको बताउँछिन् ।गुठी संस्थानअन्तर्गतका राजगुठीमार्फत सञ्चालन हुने मठमन्दिरमा भने महिला पुजारी छैनन् । तर निजी, संस्थान र नगरपालिकाले सञ्चालन गर्ने मन्दिरमा भने महिला पुजारीले पूजा गर्दै आएको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘बाजेबराजुदेखि धनुषा (नास देव) मन्दिरमा पूजा गर्दै आएकाले अहिले यो जिम्मेवारी मैले समालेकी छु,’ बीनाले भनिन् -‘भाइहरु बिदेसिएपछि ६ वर्षदेखि पूजा गर्दैछु तर मन्दिर दिनभर खोल्न सकिएको छैन् । उचित व्यवस्थापन नहुँदा मन्दिरमा तान्त्रिक पूजा गर्न पनि सकिएको छैन् ।’

मन्दिरमा प्रत्येक वर्ष दसैंको महानवमी र विजयादशमीका दिन विशेष पूजा गर्नुपर्ने र राँगो बली दिनुपर्ने भए पनि दिन नसकेकोमा उनले गुनासो गरेकी छ्न ।