संविधान निर्माणमा बेलायतले आवश्यक सहयोग गर्ने

भदौ ३०, काठमाडौँ-सभामुख सुवासचन्द्र नेम्बाङसँग संहदरबारस्थित कार्यकक्षमा बेलायती संसद्का प्रतिनिधिहरुले शिष्टाचार भेट गरेका छन् । दुई देशका संसद्बीच सुमधुर सम्बन्ध विस्तारका सिलसिलामा भएको सो भेटमा नेपाल–बेलायतबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तार भएको दुई सय वर्ष पूरा हुन लागेको अवसरमा विभिन्न कार्यक्रम मनाउने बारेमा छलफल भएको बताइएको  छ । सो भेटमा बेलायती संसद् टोलीले संविधानसभाको दोस्रो निर्वाचनपछि अघि बढेको संविधान निर्माण प्रक्रियाका बारेमा समेत चासो राख्दै संविधान निर्माणमा सक्दो सहयोग गर्ने बताएको थियो ।  बेलायती संसद् प्रतिनिधिको चासोलाई सम्बोधन गर्दै सभामुख नेम्बाङले निर्धारित समयमै संविधान निर्माणका लागि सबै दलहरु जिम्मेवारीपूर्वक पहल गरिरहेकाले संविधान निर्माण कार्य सकारात्मक रुपमा अघि बढेको जानकारी गराएका थिए । भेटमा बेलायती संसद् प्रतिनिधिमण्डलमा संसद्हरु जोन स्टन्ले, ज्याकी डोयले, फवियन हमिल्टन, केरी म्याक कर्थी तथा नेपालका लागि बेलायती राजदूत एण्ड्र्यु जेम्स स्पाक्र्स रहेका थिए ।