कांग्रेसमा नयाँ उत्तराधिकारीको उदय

भदौ ९, काठमाडौँ  – करिब ७० वर्षदेखि नेपाली राजनीतिमा प्रभाव राख्दै आएको कोइराला परिवारमा तेस्रो पुस्ताका दुई नयाँ पात्र शक्तिशाली बनेका छन् ।  साँघु साप्ताहिक लेख्छ, यीमध्ये वीपी कोइरालाका कान्छा छोरा सशांक कोइराला चाँडै नै कांग्रेसको नेतृत्वमा बंश परम्परा धान्नेगरी स्थापित हुँदैछन् । अर्की पात्र मृदुला कोइराला प्रधानमन्त्री सुशील कोइरालाको नेपथ्यकी सत्ता सञ्चालकका रुपमा उदाएकी छन् । पछिल्ला यी घटनाक्रमले कोइराला परिवार र सिंगो कांग्रेसमै खैलाबैला मच्चिएको छ ।

दुई पटक कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भइसकेका र दुई पटक नै संविधानसभा सदस्यमा निर्वाचित भइसकेका वीपीका कान्छा छोरा सशांक कोइरालाले अब कोइराला परिवारको उत्तराधिकारी बन्ने लगभग निश्चित भएको छ । शेखर, सुजाता र सशांकमध्ये कांग्रेसलाई हाँक्नका लागि सशांक नै उपयुक्त देखिएपछि उनलाई चाँडै नै १३ औं महाधिवेशनअघि नै महामन्त्री बनाएर नेतृत्वको अभ्यास गराउने खेल सुरु भएको छ । वीपी कोइरालाको विरासतसमेत रहेकाले सशांकलाई वंश राजनीतिको मियो बनाउन लागिएको बालुवाटार स्रोतले जनाएको  छ ।

त्यसो त पाटी सभापति एवम प्रधानमन्त्री सुशील कोइराला पनि शेखर र सुजातालाई भन्दा सशांकलाई नै बढी विश्वास गर्छन् । वीपी जेल परेका बेला सशांकलाई हुर्काउने र रेखदेख गर्ने कामसमेत सुशीलले नै गरेको सम्झने कोइराला परिवारका सदस्यहरु उनको रोजाइमा सशांक पर्नलाई आश्चर्य मान्दैनन् । सुशीलले यसबीचमा परिवारमा छलफल गरी आफूबाट पार नलाग्ने भन्दै सशांकलाई कमाण्ड सम्हाल्न संकेत गरिसकेका छन् । महामन्त्री कृष्ण सिटौलालाई हटाएर सशांकलाई ल्याउने विषयमा पनि कांग्रेस वृत्तमा छलफल हुन थालेको छ ।