ओलीको असली परीक्षाु सुरू हुँदै

साउन २६, काठमाडौँ – नेकपा एमालेको मंगलबारबाट हुने दोस्रो केन्द्रीय कमिटि बैठकले स्थायी कमिटि र पोलिटब्युरो गठन, विभाग तथा भूगोलको कमिटिमा इन्चार्जको जिम्मेवारी निर्धारण गर्ने भएको छ।

बैठकको निर्णयसँग नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको पनि पार्टी संचालनको परीक्षा सुरु हुने आजको नागरिकमा खबर छापिएको छ।

एमाले सचिव योगेश भट्टराईले आगामी बैठकमा महत्वपूर्ण विषयमाथि छलफल हुने भएकाले दोस्रो बैठकले अबका पाँच वर्ष पार्टी कसरी संचालन हुन्छ भन्ने संकेत गर्ने बताए।

‘पार्टी सहमतिका आधारमा अघि बढ्छ कि संख्याको हिसाबमा भन्ने कुरा अध्यक्षबाट कार्य विभाजनसहितको विषयमा आउने प्रस्तावले निर्धारण गर्नेछ,’ उनले भने । केन्द्रीय सदस्य पशुपति चौलागाईंले पनि पहिले पार्टीको कुनै पनि कमिटिको प्रमुख नभएका ओलीका लागि पार्टी अध्यक्षको हैसियतमा चुनौतीको समय सुरु भएको बताए।

‘कस–कसलाई स्थायी कमिटीमा ल्याउनेछन् भन्ने कुराले पनि ओलीको कार्यशैली झल्किनेछ,’ उनले भने । हाल रहेका १५पदाधिकारीमा बरिष्ठ नेता झलनाथ खनाललाई स्वतन्त्र राख्दा ओली र अर्का नेता नेपाल पक्षको संख्या सात सात छ। अध्यक्षको मत कुनै पनि विषयमा मत बराबरी भएको अवस्थामा मात्रै निर्णायक हुन्छ।