एमाओवादीले तीन तहको पार्टी शिक्षा दिने

साउन १०, काठमाडौं – एकीकृत नेकपा माओवादीभित्र पार्टी नेतादेखि कार्यकता तहसम्म तीन तहको पार्टी शिक्षाको प्रस्ताव गरिएको छ । पार्टीको स्कुलिङ विभागले नेता(कार्यकर्ताका आत्मकेन्द्रित व्यक्तिवादी हावी हुँदा अराजकता, अकर्मण्यता, अनुशासनहीनता, टुटफुट, निराशा र अल्छीपन बढेको निष्कर्षका साथ औपचारिक रुपमै पार्टी शिक्षाको प्रस्ताव गरेको हो । उसले तयार पारेको ड्राफ्टमा नेतादेखि कार्यकर्ता तहसम्मलाई तीन तहको शिक्षा दिनुपर्ने प्रस्ताव छ ।

ड्राफ्टमा तीन तहको पाठ्यक्रम र सन्दर्भ सामग्रीसमेत समेटिएको छ । प्राप्त ‘कार्यक्रम तथा पाठ्यक्रम’मा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको आधारभूत ज्ञान र तदनुरुपको गतिशीलबोध तथा व्यवहारबिना टपरटुइँया राजनीतिले कोही पनि वास्तविक कम्युनिस्ट बन्न नसक्ने भएकाले पार्टी शिक्षाको आवश्यकता औल्याइएको राजधानी दैनिकमा खबर  छ ।

तीन तहको पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यविधि तर्जुमा गर्ने तथा प्राथमिक पाठ्यभार एक वर्षको, माध्यमिक डेढ वर्षको र उच्च तहमा दुई वर्षको बनाई परीक्षासमेत लिने प्रस्ताव छ । प्राथमिक तहमा पार्टी समर्थक सदस्य, पूर्ण सदस्य र सेल कमिटी सदस्यहरुलाई मालेवादको जग बसाउन आधारभूत ज्ञान हासिल गराउने उद्देश्य राखिएको छ ।