भारतीय भन्दा चिनियाँ लगानी ३ गुणा बढी

असार २४, काठमाडौ ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी एफडीआई भित्र्याउने मुलुकमा सधै पहिलो रहँदै आएको दक्षिणी छिमेकी राष्ट्र भारतलाई उत्तरी छिमेकी चीनले उछिनेको छ ।

चालू आर्थिक वर्षको १० महिनासम्म चिनियाँ लगानी भारतीयको तुलनामा ३ गुणा बढी छ । उद्योग विभागका अनुसार संख्यात्मक रुपमा चिनियाँ लगानी यसअघि नै भारतीय भन्दा बढी रहेपनि यो वर्ष परिणाममा समेत अगाडि देखिएको हो । आजको कारोबार दैनिकले समाचार छापेको छ ।

चिनियाँ लगानीमा चालू वर्ष १ सय ८ परियोजना स्थापना भएका छन्, जसको लागत २९ अर्व ८० करोड रुपैयाँ छ । यो लगानी भारतको तुलनामा ३ गुणा बढी हो । तथ्थांकअनुसार सो अवधिमा भारतबाट साना, ठूला र मझौला गरी १८ परियोजनामात्रै स्थापना भएका छन्, जसको लागत ८ अर्व २२ करोड रुपैयाँमात्र छ । अघिल्लो वर्ष भारत संख्यात्मक रुपमा मात्रै कमजोर थियो ।

‘नेपालमा लगानी गर्न चिनियाँको चासो बढ्दो छ, नेपाल(चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकानी श्रेष्ठले भन्छन्,’उनीहरुले संसारभर लगानी विस्तार गरिरहेका छन् । नेपालजस्तो छिमेकी देश उनीहरुको प्राथमिकतामा पर्नु स्वभाविक हो ।’

कम्पनी दर्ता भएपनि सबै लगानी प्रतिबद्धता पूरा नुहने भन्दै उनले वातावरण बनाएर थप चिनियाँ पुँजी भित्र्याउन सक्नु पर्ने वताए । नेपालमा हाल भाषाको समस्या र चीनसँग सम्बन्ध भएका बैँकको अभावका कारण लगानी विस्ता हुन नसकेको उनको भनाई छ ।