श्रीलंकाविरुद्ध पाकिस्तानको जित

 

असोज १६, काठमाडौं – श्रीलंकालाई ५ विकेटले पाराजित गरी पाकिस्तानले शृंखला जितेको छ । घरेलु मैदान कराँचीस्थित राष्ट्रिय रंगशालामा २९८ रनको लक्ष्य पाकिस्तानले १० बल अगावै ५ विकेट गुमाएर भेट्टाएको हो । पछिल्लो ३ वर्षमा पाकिस्तानको यो सर्वा्धिक रनचेज जित हो ।

ओपनरहरु फाखर अजाम र अविद अलीले पहिलो विकेटका लागि १२३ रनको साझेदारी गर्दै पाकिस्तानको जितको खाका कोरेका थिए ।

९१ बलमा ७६ रन प्रहार गरेका अजमले १ छक्का र ७ चौका प्रहार गरे । ६७ बलमा ७४ रनको योगदान गरेका अलीले १० चौका प्रहार गरे ।

बाबर अजामले ३१ र कप्तान सर्फराज अहमदले २३ रन बनाए । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका ह्यारिस सोहेलले ५० बलमा ५५ रनको अर्धशतकीय पारी खेले ।

२२ बलमा २८ अविजित रन बनाएका इफ्तिखर अहमदले लगातार छक्का र चौका प्रहार गरी पाकिस्तानले घरेलु भूमिमा शृंखला जिताए । बलिङमा श्रीलंकाका नुवान प्रदीपले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ओपनर धनुस्का गुनाथिलाकाको सानदार शतकको सहयोगमा ९ विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको थियो ।

४४.३ ओभरमा मोहम्मद आमिरको बलमा बोल्ड हुनुअघि गुनाथिलाकाले १३४ बलमा १६ चौका र १ छक्का प्रहार गरे ।

श्रीलंकाका लागि कप्तान लहिरु थिरिमान्ने र मिनोद भानुकाले समान ३६ रनको योगदान गरे । सातौँ नम्बरमा ब्याटिङमा आएका धनुस शानाकाले २४ बलमा ४३ रनको विष्फोटक पारी खेलेका थिए ।

पाकिस्तानका मोहम्मद आमिरले ३ विकेट लिए । उनले १० ओभरमा ५० रन खर्चिए । उस्मान अन्सारी, वहाव रियाज, सादव खान र मोहम्मद नावाजले एक–एक विकेट लिए ।