कोरियाले इपीएस कामदारको बसाइ लम्ब्याउन अलग भिसा प्रणाली लागु गर्ने

साउन ५,कोरिया -कोरिया सरकारले साना तथा मझौला कम्पनीहरुमा दक्ष तथा अनुभवी कामदारको अभावलाई पूर्ति गर्न छुट्टै खालको भिसा प्रणाली लागु गर्ने भएको छ।

इपीएसमार्फत कोरिया आएका कामदारको समयावधि ४ वर्ष १० महिना मात्र हुने हुनाले अनुभवी कामदारको कोरिया बसाइलाई लम्ब्याउन E7-4 भिसा लागु गर्न लागेको कोरियाको न्याय मन्त्रालयले बुधबार बताएको छ। उक्त भिसाको लागि कोरियामा E 9, E10 तथा H2 भिसामा कार्यरत कुनै पनि विदेशी कामदारले निवेदन दिन सक्ने बताइएको छ।

यसभन्दा पहिला इपीएसमार्फत कोरिया आएका कामदारले आफ्नो कोरिया बसाइलाई लम्ब्याउन E7 भिसाको लागि निवेदन दिन पाउने नियम भएकोमा अबदेखि E7-4 भिसाको लागि पनि निवेदन दिने पाउने छन्।

यद्यपि E7-4 भिसाको लागि पनि केहि प्रक्रिया जस्तै उमेरको हदबन्दी, आम्दानी, कामको अनुभव तथा भासाको दक्षता पूरा गर्नुपर्ने भए पनि E7 भिसाको प्रक्रियाभन्दा निकै खुकुलो हुने जनाइएको छ। उत्पादनमुलक, कृषि तथा मत्स्यपालन आदि क्षेत्रका कामदारले उक्त भिसाको लागि निवेदन दिन सक्ने छन्।

यसरी थप भिसाको लागि निवेदन दिने कामदारको कामको अनुभव, आम्दानी, उमेर, भाषाको दक्षता, शैक्षिक योग्यता आदिलाई आधार मानेर ५० अंकभन्दा माथि ल्याउनेले उक्त भिसा प्राप्त गर्न सक्ने बताइए पनि ‘टपिक लेबल’ कति पास गर्नु पर्ने भने खुलाइएको छैन।

नयाँ भिसा प्रणालीले साना तथा मझौला कम्पनीहरुमा दक्ष तथा अनुभवी कामदारको अभाव नहुने न्याय मन्त्रालयको बुझाई छ।

यसरी मापदण्ड पुरा गरी E7-4 भिसा प्राप्त गर्ने विदेशी कामदारले प्रत्येक २ वर्षमा आफ्नो भिसा नवीकरण गरी आफ्नो परिवार पनि सँगै राख्न पाउने छन्।

कोरिया सरकारले ल्याएको पाइलट प्रोजेक्ट अन्तर्गत यो आर्थिक वर्षभित्रै अन्य थप भिसा प्रणाली लागु गर्ने बताइएको छ। आगामी वर्षको लागि E7-4 भिसाको कोटा भने यो वर्षको अन्त्य सम्ममा निर्धारण गर्ने बताएको छ।

हाल कोरियाले विभिन्न क्षेत्रमा इपीएस मार्फत E9 भिसामा अदक्ष विदेशी कामदार लिँदै आएको छ। यसरी आएका कामदारको समयावधि ४ वर्ष १० महिना हुने गर्दछ। यसरी आएका कामदारले आफ्नो परिवार कोरिया झिकाउन पाउँदैनन भने पुनः कोरिया प्रवेश गर्न चाहेमा विभिन्न थप प्रक्रियाहरु पूरा गर्नु पर्ने नियम छ।