प्रचण्डले बनाउने भए चलचित्र ‘बाह्रमासे’

 
काठमाडौँ – टेलिभिजनको पर्दामा लामो समय नक्कली प्रचण्डको भूमिका निभाएका कलाकार प्रदिप पाठकले ठूलो पर्दाको चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । पछिल्लो समय विभिन्न सर्ट फिल्म र म्युजिक भिडियो निर्माणमा व्यस्त रहेका प्रदिप पाठकले हिजो असार १५ का दिन उक्त कुरा सार्वजनिक गरेका हुन् ।

उनले ‘बाह्रमासे’ नामको चलचित्र निर्माण गर्न लागेका छन् । बाह्रमासे चलचित्रमा भद्रगोल लगायत अन्य थुप्रै टेलिचलचित्रका चर्चित हास्यकलाकारहरुको अभिनय रहने पाठकले बताएका छन् । उक्त चलचित्र यहि असार अन्तिम सातादेखि छायांकन सुरु हुने निर्माता पाठकले बताएका छन् ।

उक्त हाँस्यप्रधान चलचित्र ‘बाह्रमासे’को निर्देशन लामो समय देखि कलाकारितामा संलग्न रहेकी चर्चित हाँस्यकलाकार पल्पसा डंगोल(चम्सुरी)ले गर्ने भएकी छिन ।

चलचित्रमा भद्रगोलका निर्माता एवम चर्चित कलाकार सुवास कार्की(बेलासे)मुख्य पात्रका रुपमा देखिने भएका छन् । यसका साथै चलचित्रका अन्य कलाकारहरुमा मधुसुधन पाठक(सीते बा) सीपी पुडासैनी(धतुरे) गोविन्द कोइराला (जयन्ते ) सुरविर पण्डीत,रामचन्द्र अधिकारी,केदार न्यौपाने,निर्मल शर्मा(गैंडा),अरुणा कार्की,रोहित दंगाल,रोहन ,राधा लम्साल(भावु) निरु खड्का(निर्मली)बजगाइँ,सुदिप बराल,सुशिल सैंजु,अमृता भट्ट,पत्रकारहरु ऋषि धमला र जनार्जन पौडेल लगायत रहेका छन् ।

उक्त चलचित्रको छायांकन काभ्रेको नाला,पनौती,खोपासी ,पाँचखाल,भकुण्डे आसपासमा गर्ने निर्माता प्रदिपले बताएका छन् ।

चलचित्रमा दुईवटा गीतहरु रहने र दुईवटै गीतमा हालका चर्चित गायिका मिना निरौला र सञ्जय बरालको स्वर रहने बताइएको छ । सिनेमा कार्तिक पहिलो हप्ता अर्थात तिहारमा रिलीज गरिने निर्माण पक्षले बताएको छ ।