मेक्सिकोलाई हराउँदै जर्मनी फाइनलमा, उपाधिका लागि चिलीसँग भिड्ने

 
असार १६,काठमाडौँ – विश्व विजेता जर्मनी रूसमा जारी फिफा कन्फेडेरेसन कप फुटबलको उपाधिनजिक पुगेको छ। बिहिबार राति भएको अन्तिम सेमिफाइनलमा मेक्सिकोलाई ४ – १ को फराकिलो अन्तरमा हराउँदै जर्मनी फाइनलमा पुगेको हो।

सोचीको ओलाम्पियासकी स्टेडियममा भएको खेलमा जर्मनीलाई जित दिलाउन लिओन गोरेत्ज्काले दुई तथा टिमो वेर्नेर र अमिन युनिसले समान एक एक गोल गरेका थिए। मेक्सिकोको मार्को फाबियानोले सान्तवना गोल फर्काए ।

अब उपाधिका लागि जर्मनीले फाइनलमा दक्षिण अमेरिकी क्षेत्रको विजेता चिलीसँग आइतबार खेल्ने छ। चिली युरोकप विजेता पोर्चुगललाई हराउँदै उपाधि नजिक आइपुगेको हो।

मेक्सिकोविरुद्ध जर्मनीले आठ मिनेटभित्र नै दुई गोल गरेको थियो। सुरुवाती मिनेटबाटै आक्रमक खेल खेलेको जर्मनीले छैटौं मिनेटमा लिओन गोरेत्ज्काको गोलबाट खेलमा अग्रता लियो। त्यसको दुई मिनेट नबित्दै गोरेत्ज्काले पुनः व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारेका थिए।

पहिलो हाफमा २-० ले अघि रहेको जर्मनीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।