पोर्चुगललाई ३–० ले पराजित गर्दै चिली फाइनलमा

 

असार १५ , काठमाडौं – गोलरक्षक क्लाउडियो ब्राभोको नायकिय प्रदर्शनपछि चिली पेनाल्टी सुटआउटमा युरो विजेता पोर्चुगललाई ३–० ले पराजित गर्दै चिली कन्फिडरेशन कपको फाइनलमा पहिलो पल्ट प्रवेश गरेको छ।

निर्धारित ९० र थप गरिएको ३० मिनेटपछि पनि कुनै नतिजा ननिस्किएपछि कन्फिडरेशन कपको पहिलो सेमिफाइनल खेल पेनाल्टी सुटआउटबाट निर्धारण भएको थियो। जसमा कोपा अमेरिका विजेता चिलीका गोलरक्षक ब्राभोले पोर्चुगलका रिकार्डो क्युरेस्मा, जाओ माउटिन्हो र नानीको लगातार तीनवटा पेनाल्टी रोक्दै आफ्नो टोलीलाई फाइनल प्रवेश गराउन सफल भए।

चिलीका लागि आर्टुरो भिडाल, चार्लस अरानगुइज र एलेक्सिस साञ्चेज तीन जनाले नै गोल गरेका थिए। चिली फुटबलको ‘गोल्डेन जेनेरेशन’ मानिने यो टोलीले आइतबार हुने फाइनल खेल भोली जर्मनी र मेक्सिकोबीचको विजेतासँग खेल्ने छ।