ट्रक दुर्घटना: १६ जनाको मृत्यु, आठ घाइते

 

असार ११ ,ढाका – बङ्गलादेशको उत्तरी क्षेत्रमा सिमेन्ट बोकेर सडकमा गुडिरहेको एक ट्रक राङ्पुर जिल्लाको सडकबाट चिप्लिएर भएको दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटनामा आठजना अन्य घाइते भएका छन्।

बङ्गलादेशको प्रहरीले ट्रकमा मुस्लिम इद बिदा मनाउन हिडेकामध्ये १६ जनाको मृत्यु भएको र आठजना घाइते भएका बताएको छ।

मृतक प्रायः राजधानी ढाकामा मजदुरी गर्ने श्रमिक रहेका छन्। उनीहरु इदको बिदामा पर्व मनाउन घरतर्फ हिँडेका बताइएको छ।

घटनामा बाँच्न सफल एक व्यक्तिले ट्रक चालकले आफूलाई निद्रा लागेको बताउँदै विस्तारै ट्रक हाँक्न सहयोगीलाई लगाई सुतेपछि दुर्घटना भएको बताएका छन्।

इद पर्व नजिकिँदै गर्दा भएको सडक दुर्घटनाले रमाइलो र खुसी साट्ने आकाङ्क्षाका साथ आफन्तलाई पर्खिबसेका लाखौँलाई स्तब्ध पारेको छ।

कमजोर सडक संरचना, ट्राफिक नियममा हुनुपर्ने नियमनमा हेलचेक्र्याईं भारवहन क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका समस्यालाई नजिकबाट निगरानी नहुँदा हरेक वर्ष बङ्गलादेशमा ठूलो सङ्ख्यामा यात्रुले दुर्घटनाका कारण ज्यान गुमाउने गर्छन्। रासस/सिन्ह्वा