दलित मेयर भन्छन् – ‘भत्ता रकमले शिक्षक पाल्छु’

जेष्ठ ७, २०७४- बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले भत्ताबापत बझ्ने सबै रकम शिक्षा विकासमा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ढोरपाटन नगरवासीले आफूलाई विश्वास गरी जिताएकाले उनीहरूलाई महसुस हुने गरी नगर विकासमा खटिने उनको भनाइ छ ।

‘ढोरपाटन नगरवासीले मलाई ठूलो विश्वासले जिताउनुभएको छ,’ ४२ वर्षीय उनले भने, ‘मलाई राज्यले प्रदान गर्ने भत्ता रकमबाट शिक्षक पाल्छु र शिक्षाको चेतना फैलाउने काममा सहयोग गर्छु ।’
ढोरपाटन नगरपालिकामा दलित र जनजातिको बाहुल्य रहेकाले उनीहरूको शिक्षा र चेतनास्तर वृद्धि गर्नुपर्ने आवश्यकता देखेका छन् नेपालीले । उनी २ हजार ६ सय ९२ मत ल्याई विजयी भएका हुन् । उनका प्रत्याशी कांग्रेसका अर्जुन शेरचनले १ हजार ९ सय ४६ मत प्राप्त गरेका थिए । त्यसैगरी उपप्रमुखमा एमालेकी करमती पुन २ हजार ७९ मत प्राप्त गरी विजयी भइन् । पुनसँग कांग्रेसकी दिलमाया पौवी पराजय भइन् ।

जातीय विभेद सहँदै हुर्किएकाले सानैदेखि विद्रोही स्वभाव भएको र आफूले ढोरपाटनलाई छुवाछूतमुक्त नगरपालिका बनाउन लागिपर्ने नेपालीले बताए । नगरलाई सडक सञ्जाल, शिक्षा, स्वास्थ्य र खानेपानीको पहुँच पुर्‍याई नमुना नगरपालिका बनाउने उद्देश्य रहेको उनको भनाइ छ । आफ्नो योजनामा साथ दिन उनले सबैमा आग्रह गरे ।कान्तिपुर समाचारमा लेखिएको छ ।

‘दलित प्रमुख भएकाले पनि ममाथि धेरै चुनौती छन्,’ ढोरपाटन–१ का उनले भने, ‘दुई छाक भात खान पुगेकै छ । अब नगरपालिकालाई नमुना बनाउन अहोरात्र खटिनेछु ।’ देवकुमार सबैसँग घुलमिल हुन सक्ने र उपलब्धि प्राप्त नभएसम्म निरन्तर खटिने स्वभावका कारणले पनि सबैले मन पराएको पत्नी छेला नेपालीले बताइन् ।