जिदानको सयौं खेलमा रियल म्याड्रिडलाई ३–३ गोलमा रोक्यो पोलिस क्लबले

कात्तिक १८, काठमाडौं –  प्रशिक्षक जिनेदिन जिदानको सयौं खेलमा रियल म्याड्रिड च्याम्पियन्स लिगको सबैभन्दा कमजोर आँकिएको पोलिस क्लब लेजिया वार्ससँग ३–३ को बराबरीमा रोकिएको छ। च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन म्याड्रिडले खेलको ३५ मिनेटमा २ गोलको अग्रता बनाएपनि अन्त्यमा पोलिस क्लबसँग अंक बाड्न बाध्य बन्यो।

खाली रंगशालामा भएको नाटकिय खेलमा सुरुवातमै दुइ गोलको अग्रता बनाएको रियल म्याड्रिड झन्डै हारेको थियो। तर, ८५ मिनेटमा माटियो कोभासिकले गोल फर्काउदै म्याड्रिडको हारलाई टारेका थिए। खेलको नतिजापछि म्याड्रिडको समूह ‘एफ’ मा शीर्षस्थानमा रहँदै छनोट हुने सम्भावना केही समयका लागि टरेको छ। यो समूहबाट बोरुसिया डर्टमुन्ट स्पोर्टिङ लिस्बनलाई १–० ले पराजित गर्ने क्रममा ४ खेलबाट १० अंक बटुल्दै नकआउट चरणमा प्रवेश गर्यो। बराबरीपछि म्याड्रिड ८ अंकमै खुम्चिएको छ। छनोटका लागि थप दुई खेल खेल्न बाँकी छ।

बोरुसिया डर्टमुन्टविरूद्धको अघिल्लो खेलमा पोलिस समर्थकले उत्पात मच्चाएपछि बुधबारको खेल रियल म्याड्रिडले वार्सको खाली रंगशालामा खेलेको थियो। जहाँ १ सय ५० जति म्याड्रिडका समर्थकलाई मात्र खेल हेर्न स्विकृति प्रदान गरिएको थियो।

यसै साता म्याड्रिडमा ६ वर्षको थप अनुबन्धन नविकरण गरेका वेल्स स्ट्राइकर गारेथ वेलले खेल सुरु भएको ५८ सेकेन्डमा गोल गर्दै स्पेनिस क्लबलाई अग्रता दिलाएका थिए। उनले ३५ मिनेटमा पनि करिम बेन्जेमालाई अर्को गोल थप्न पास मिलाइदिएका थिए।

चार स्ट्राइकरको नयाँ नीति अनुरुप आफ्ना खेलाडीलाई मैदानमा उतारेका जिदान त्यतिबेला स्तब्ध भए। जब ४३ मिनेट भित्र वार्सले ३ गोल फर्कायो। ४० मिनेटमा भाडिस ओडजिड्जा ओफीले वार्सका लागि पहिलो गोल गरे। यस्तै, ५८ मिनेटमा मिरोस्लाभ राडोभिक र ८३ मिनेटमा थिबाउल्ट माउलिनले गोल फर्काएपछि म्याड्रिड तनावमा देखिएको थियो। तर, माटियोले छिट्टै म्याड्रिडको उद्धार गरे।

२० वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको पोलिस क्लबले च्याम्पियन्स लिगमा आफ्नो प्रतिद्धन्द्धीलाई तीन गोल हानेको पहिलो घटना थियो। उसले अघिल्लो तीन खेलमा एक गोल मात्र गरेको थियो। बुधबारको खेलमा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो निकै फितलो देखिएका थिए। जिदानले रोनाल्डो, वेल, बेन्जेमा र अल्भारो मोराटालाई एकै पल्ट आक्रमणको जिम्मा सुम्पिएका थिए।