सेभिल नकआउट नजिक, युभेन्ट्स आफ्नै मैदानमा स्तब्ध

कात्तिक १८, काठमाडौं – क्रोएसियाली क्लब डिनामो जाग्रेबलाई उसैको घरेलु मैदानमा ४–० ले स्तब्ध पारेको स्पेनिस क्लब सेभिला च्याम्पियन्स लिगको नकआउट चरण प्रवेशको नजिक पुगेको छ। रामोन साञ्चेज रंगशालामा उपस्थित करिब ३६ हजार घरेलु दर्शकमाझ फितलो रुपमा प्रस्तुत भएको क्रोएसियाली क्लबले यसको नराम्रो परिणाम भोग्नु पर्यो।

एट्लेटिको म्याड्रिडबाट क्रृण सम्झौतामा आएका अर्जेन्टिनी स्ट्राइकर लुसियानो डारियो भिटोले पहिलो हाफमै सेभिलालाई १–० को अग्रता दिलाएका थिए, जब उनले ३१ मिनेटमा गोल गरे। पहिलो हाफको निर्धारित ४५ मिनेटपछि थप गरिएको समयमा दोस्रो पहेँलो कार्डको सामना गर्दै स्लोभेनियाका डिफेन्डर पिटर स्टोजानोभिक मैदानबाट बाहिरिए।

यसपछि बाँकीको ४५ मिनेटको खेल घरेलु टोलीले १० खेलाडीमा सिमित भएर खेल्नु परेको थियो। यसको पूर्ण फाइदा स्पेनिस क्लबले लियो। दोस्रो हाफपछि तीन गोल थप्दै सेभिला ४–० ले विजयी भयो। सेभिलाको जीतमा स्पेनिस लेफ्ट ब्याक सर्गियो इस्कुडेरोले ६०, फ्रेन्च डिफेन्डर एन’जोन्जीले ८० र फ्रेन्च स्ट्राइकर बेन यार्डरले ८७ मिनेटमा गोल गरेका थिए।

जीतसँगै समूह ‘एच’ मा सेभिला ४ खेलमा १० अंकसहित शीर्षस्थानमा उक्लिएको छ। यही समूहको अर्को खेलमा फ्रेन्च क्लब लियोनले इटालीको च्याम्पियन क्लब युभेन्ट्सलाई उसैको मैदानमा १–१ गोलको बराबरी खेल्दै स्तब्ध पार्यो। लियोनसँग अंक बाड्नु परेपछि युभेन्ट्स समूहको शीर्षस्थानमा रहेको सेभिलाभन्दा स्पष्ट दुइ अंकले पछि परेको छ। उसले ४ खेलमा ८ अंक बटुलेको छ।

युभेन्ट्सले १३ मिनेटमै अर्जेन्टिनी स्ट्राइकर हिग्विनको गोलबाट अग्रता लिएको थियो। तर, फ्रेन्च मिडफिल्डर कोरेन्टिन टोलिसोले ८४ मिनेटमा गोल फर्काएपछि ४० हजार घरेलु समर्थकका अगाडि युभेन्ट्स स्तब्ध बन्न पुग्यो। युभेन्ट्ससँग अंक बाडेको लियोनको ४ अंक छ।