१०२ मेगावाटको मध्य भोटेकोसी दुई वर्ष भित्र सक्न निर्देशन

माघ २,काठमाडौं – सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको काम दुई वर्षमा सम्पन्न गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले निर्देशन दिएको छ । ऊर्जासचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने सुनिश्चिता हुने एकीकृत समयतालिका तयार गर्न तथा सोही अनुसार सबै काम अगाडि बढाउन निर्देशन दिएका हुन् । सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले शनिबार आयोजनाको स्थगलत निरीक्षण गरी यस्तो निर्देशन दिएका हुन् । सोही क्रममा आयोजना व्यवस्थापन, परामर्शदाता लाहामेयर र ठेकेदार कम्पनीहरू क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोसँग छलफल गरेका थिए ।

सन् २०१७ जुनमा निर्माण सक्ने गरी सुरु गरिएको आयोजनाको काम अहिले सम्म ४० प्रतिशत मात्रै भएको छ । जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँध स्थलको जग्गा समयमा उपलब्ध गराउन नसक्नु तथा ठेकेदारले अपेक्षाकृत काम गर्न नसक्दा आयोजनाको काममा ढिलाइ भएको हो । सन् २०१९ को जुनमा आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको बाँधस्थल, सुरुङ, विद्युत्गृह लगायत सबैतिर काम भइरहेको छ । बाँधस्थल खन्न सुरु भएको छ भने विद्युतगृह रहने ठाउँ पनि खन्ने काम सकिएको आयोजनाले जनाएको छ । ७.१ किलोमिटर मुख्य सुरुङ मध्ये करिब तीन किलोमिटर सुरुङ खनिएको छ । १२ अर्ब २८ करोड अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । चिलिमे कम्पनीको अगुवाइमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण, सिन्धुपाल्चोकका चारवटा इन्भेष्टमेन्ट कम्पनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, सिन्धुपाल्चोकवासी, सर्वसाधारण लगायतको लगानी रहनेछ । घिसिङ चिलिमे कम्पनीको प्रबन्ध सञ्चालक रहेका वेला आयोजना अगाडि बढाइएको थियो ।आयोजनाबाट वार्षिक ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुनेछ । सो विद्युत् बिक्रीबाट वार्षिक रूपमा २ अर्ब ९० करोड ४३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ ।
नयाँपत्रिकाबाट