हङकङमा प्रदर्शन जारी, हङकङ बिबादबारे अमेरिका र चीनबीच वाकयुद्ध शुरु

साउन २७, एजेन्सी –  विवादास्पद सुपुर्दगी विधेयक खारेजीको माग गर्दै बिगत १० सातादेखि हङकङमा प्रदर्शन जारी छ । शुरुमा सुपुर्दगी बिधेयक खारेजीको माग गरिएपनि अहिले प्रदर्शनकारीहरुले लोकतन्त्रको माग गर्न थालेका छन् ।

हङकङमा जारी आन्दोलनका कारण त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ । हङकङको मुख्य शहरमा सवारी आवागमन रोक लगाइएको छ भने ब्यापार ब्यबसाय समेत ठप्प पारिएको छ । प्रर्दशनकै क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप भएको छ ।

विरोधले उग्र रुप लिएपनि हङकङको कार्यकारी प्रमुख क्यारी ल्यामले भने आन्दोलनकारीहरुको माग पूरा नहुने घोषणा गरेपछि आन्दोलन झन चर्किएको हो । प्रदर्शनका क्रममा भएको झडपमा कयौं आन्दोलनकारी र सुरक्षाकर्मी घाइते भएको अन्तराष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।

प्रहरीले भीड नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेपछि दोहोरो झडप शुरु भएको हो । व्यस्त बजार र रेलवे स्टेशनमा भएको प्रदर्शनका क्रममा हानिएको अश्रु ग्यासले सर्वसाधारण प्रभावित भएका हुँदै आएका छन् ।

यसैबीच हङकङ बिबादबारे अमेरिका र चीनबीच वाकयुद्ध शुरु भएको छ । आन्दोलन मत्थर पार्न हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारीहरुले भने प्रहरीले आफूहरुमाथि दमन गरेको आरोप लगाउँदै आएको छ ।