सेयरमा महिलाको लगानी बढ्दो

 

माघ ८, काठमाडौं– सेयरलाई बढ्दो, फैलँदो र सुरक्षित लगानी मानिन्छ । यो घरमै बसेर पैसा कमाउन सकिने सहज माध्यम पनि हो । कामकाजी हुन् वा गृहिणी जुनसुकै स्तरका महिलाका लागि यो सुरक्षित र सजिलो आर्थिक लाभको माध्यम बनेको छ । ११ देखि ३ बजेसम्म हप्तामा ६ दिन खुल्ने सेयर मार्केटले घरमै बस्ने गृहिणीहरूलाई लगानीको बाटो बनाइदिएको छ । पेवालगायत थोरै रकम पनि सेयरमा लगानी गर्न सकिने बताउँदै धितोपत्र बोर्डका उप–कार्यकारी निर्देशक डाक्टर नवराज अधिकारी भन्छन्–‘यसमा लगानी गर्न एकमुष्ट ठूलो धनराशि चाहिन्छ भन्ने छैन । दाइजो–पेवा, कुनै उत्सव सेलिब्रेसनबाट उठेको नगद, उपहारलगायत स–सानो रकम सेयरमा लगानी गरेर राम्रै आम्दानी गरेका उदाहरण प्रशस्तै छन् ।’ अधिकारीले भनेजस्तै सेयरबाट मात्र करोडौं कमाइ गर्ने महिला नेपालमै पनि छन् ।

चुस्त–दुरुस्त सेवा, प्रविधियुक्त सुविधा, छिटो रकम फिर्ता तथा सुरक्षित लगानीका कारण पनि सेयरमा महिलाहरूको आकर्षण बढेको हो । अधिकारीका अनुसार नेपाली सेयर बजारमा महिलाहरूको सहभागिता बढेको पाइन्छ । पछिल्लो समयमा प्राथमिक बजारमा स्वचालित गर्न र प्रवेश गर्न अप्लिकेसन सार्पोटेड वाइ ब्लग्ड अमाउन्ट (आस्वा) सेन्ट्रलाइज्ड अप्लिकेसन सार्पोटेड वाइ बल्ग्ड अमाउन्ट (सि आस्वा) ल्याइयो । त्यसका अतिरिक्त निष्काशन भएको सेयरमा दरखास्तवालाहरूलाई कम्तीमा १० कित्ता अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था हामीले ल्यायौं त्यसले प्राथमिक बजार मैत्रीपूर्ण बन्यो । चार–पाँच घन्टा लाइनमा बस्नुपर्दा महिलालाई निकै कठिन हुन्थ्यो तर अहिले बैंकबाटै त्यस्तो कारेबार हुन्छ । बाँडफाँड छिट्टै हुन्छ, परेको जति उसको खाताबाट घटेर निष्काशनकर्ता कम्पनीको खातामा जम्मा हुन्छ । बाँकी रकम पुन: बैंकमै रिलिज हुन्छ ।

अहिले निक्षेप सदस्य (डिपोजिटेरी पार्टिसिपेन्ट) सेवा पनि उपलब्ध छ । काठमाडौं र उपत्यकाबाहिरका सबै सहरमा यो सेवा उपलब्ध छ । यसले गर्दा दोस्रो बजारमा इलेक्ट्रोनिक सर्टिफिकेट (विद्युतीय अभिलेख) हुने हुँदा दोस्रो बजार खरिद–बिक्री, अभिलेख, जानकारी सहज तरिकाले प्राप्त हुन्छ । आस्वा, सी आस्वा, डिपी, केन्द्रीय निक्षेप सेवा, शाख मूल्यांकन सेवाजस्ता सुविधा उपलब्ध हुँदा महिलाले घरैमा बसेर सहज तरिकाले सेयरमा लगानी गर्न सक्छन् । अहिले सूचनाको पहुँच पनि बढेको छ । नेपाल स्टक एक्सचेन्जकी एक्टिङ डेपुटी म्यानेजर प्रविन पाण्डकका अनुसार सेयर मार्केटमा विविध क्षेत्र छन् । जस्तो कि लगानीकर्ता, मार्केट पार्टिसिपेन्स, रेगुलेटर आदि । रेगुलेटरलगायत बजार सहभागिताका क्षेत्रमा महिला सहभागिता केही हदसम्म बढेको छ । सरकारको समावेशी नीतिअनुसार कर्मचारी आह््वान गर्दा केही हदसम्म महिला सहभागिता बढ्दै गएको छ । पाण्डक भन्छिन्–तर अपेक्षाकृत रूपमा बढेको छैन । संघसंस्था, स्टक एक्सचेन्ज आदिमा महिलाको उपस्थिति करिब–करिब शून्य नै छ । नीतिगत तहमा महिला सिइओ, अध्यक्ष आदि छैनन् ।’

उता धितोपत्र बोर्डका अधिकारी भने सामाजिक सञ्जाल, सञ्चारमाध्यम, मोबाइल आदि प्रविधिका कारण बजारसम्बन्धी सूचना सजिलै प्राप्त हुने भएकाले सेयर बजार फस्टाएको बताउँछन् । नेपाल धितोपत्र बोर्डले देशव्यापी रूपमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रमलाई व्यापक रूपमा सञ्चालन गर्दै आएको छ भने उसले सफ्ट मिजर (सूचना प्रवाह, तालिम, कार्यशाला, गोष्ठी, सञ्चार माध्यमद्वारा यसैसम्बधी विभिन्न सूचना र कार्यक्रम) मा पनि जोड दिएको छ । बोर्डले आफ्नै कार्यालयमा नि:शुल्क रूपमा पाक्षिक लगानीकर्ता प्रशिक्षण कार्यक्रमको सुरुवात गरेर यसलाई निरन्तरता दिएको छ । अधिकारी भन्छन्–‘जानकारीमूलक अध्ययन सामग्रीको प्रकाशनलाई तीव्र बनाइएको छ ।

हामी दोस्रो बजारलाई अनुगमन गरिरहन्छौं । यसै क्रममा सेयरमा चलखेल भएको शंका लागे वा कुनै संकेत प्राप्त भए अथवा संचारमाध्यममा त्यस्तो किसिमको जानकारी प्रवाह एवं प्रकाशन भएको पाइए तुरुन्तै ब्रोकर व्यवसायीहरू र नेपाल स्टक एक्सचेन्जसँग सोधपुछ गर्छौं र अवाञ्छित क्रियाकलाप भएको वा गरेको देखिए अनुसन्धान कार्य अघि बढाउने, कारबाही गर्ने काम सक्रियतापूर्वक गर्छौं । यस्ता विषयमा अहिले महिला आवाज उठेको पाइन्छ ।’

सेयर कारोबार गर्ने लिञ्च स्टक मार्केटकी सरिता विष्टका अनुसार सेयर बजारमा लगानीकर्ता महिलाको संख्या ५० प्रतिशतभन्दा माथि पुगिसकेको छ । सञ्चार र प्रविधिले यो कार्यलाई सहज एवं सुलभ बनाएकाले यसप्रति महिलाको आकर्षण निकै बढ्दो छ । यद्यपि यो क्षेत्रको उच्च तथा निर्णायक तहमा भने महिलाको संख्या अत्यन्तै न्यून छ । विष्ट भन्छिन्–‘कामकाजी महिलाका लागि पनि प्राथमिक र दोस्रो बजारमा कारोवार गर्दा लन्च आवरमा अनलाइनद्वारा नै कारोवार गर्न सहज छ । त्यसैले अहिले सेयरमा महिलाको संख्या बढ्दो छ ।’

स्टक एक्सचेन्जकी प्रविन पाण्डकको भनाइ पनि उही छ, लगानीकर्ताको हकमा महिलाको संख्या धेरै बढेको छ । नेतृत्वतहमा महिलाहरू आइरहेका छन् । आर्थिक एवं पुरुषको वर्चश्वका कारण अप्ठ्यारो त छ नै र पनि लगानीकर्ताको हकमा निराश हुनुपर्ने देखिँदैन । लगानीमा यो संख्या बढ्नुको कारण क्यापिटल मार्केट ग्रोइङ पेस, प्रविधि तथा शिक्षा नै हो । अर्को कुरा कम रकम लगानी गर्ने वातावरण पनि छ सेयरमा ।

महिलाले फुर्सदलाई लगानीमा परिणत गरेका छन् । पाण्डक भन्छिन्–‘क्यापिटल मार्केटमा महिलालाई उत्प्रेरित गर्ने खालको सरकारी नीति देखिँदैन । विशेष आकर्षक र प्रभावकारी सरकारी नीति तथा कार्यक्रमको आवश्यकता खड्किएको छ । करमा छुट, महिलाको बचतमा छुट, सहज ऋण प्रवाहजस्ता काम गर्न सकिन्छ । महिलाहरूमा सूचनाको कमी देखिन्छ । पुरुषको जस्तो नेटवर्किङ देखिँदैन, संचारमा सचेतनाको कमी छ ।