सुमनको चर्चा

काठमाडौं, १० माघ – कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको स्ट्याण्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ रोमाञ्चक मोडमा पुगेको छ । उत्कृष्ट ५ मा प्रवेश गरिसकेको उक्त शोमा यो साता निर्णायकहरूको वाइल्ड कार्डमार्फत सुमन कोइराला छैटौं फाइनलिस्टका रूपमा प्रवेश गरेर तहल्का मच्चाए । इटहरीका सुमन कोइराला प्रतिस्पर्धाको यो चरणमा आइपुग्दा भाग्यमानीसमेत मानिएका छन् ।

निर्णायकमध्येका एक चलचित्र निर्देशक प्रदीप भट्टराई भन्छन्, ‘निर्णायकलाई बाहिरिएका पाँच जनामध्ये एक जनालाई पुन: भित्र्याउने अधिकार प्रदान गरिएको थियो । बाहिरिएकामध्ये सुमनको उत्कृष्ट प्रस्तुतिका कारण उनलाई वाइल्ड कार्ड इन्ट्री मिलेको हो । यो साता प्रस्तुतिमा सुमनले आफूलाई थप प्रमाणित गरिदिएका छन् ।’

निर्णायक भट्टराईका अनुसार सुमनको ‘अग्र्यानिक’ कमेडी नै उनको बलियो पक्ष हो । ‘हामी सबैले देखेका, भोगेका कुराहरूलाई टपक्कै टिपेर ल्याउने उनको खुबी अलौकिक छ, निर्णायक भट्टराई भन्छन्, ‘उनले दिने कन्टेन्ट पनि उत्तिकै मौलिक छ ।’

सुमनको हास्य चेत तथा चोटिलो प्रहारलाई दर्शकहरूले मन पराएका छन् । एउटै विषयवस्तुमा धेरै कुरा अटाउन सक्ने उनको खुसीको चौतर्फी प्रशंसा भएको छ । गत मंगलबारको कार्यक्रममा उनले जग्गा दलालहरूका बारेमा चोटिलो व्यङ्य प्रहार गरेका थिए ।