सुदूरपश्चिममा कोरोना संक्रमण दर उच्च

असार १९, कैलाली – बिहीबार एकैदिन ३ सय ३३ जना संक्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३३ पुगेको छ ।

प्रदेशको कैलालीमा एकैदिन १३८ जना नयाँ संक्रमित थपिएपछि यो जिल्लामा संक्रमितको संख्या ८ सय ७४ पुगेको छ । योसँगै कैलाली देशभरमै सबैभन्दा बढी कोरोना संक्रमित जिल्लाको रूपमा देखिएको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बिहीबारसम्म कञ्चनपुरमा ३५१, डोटीमा ४७३, डडेल्धुरामा २३०, बाजुरामा ३३७ बैतडीमा २३६, बझाङमा १२७, अछाममा २८८ र दार्चुलामा १७ जना संक्रमित पुगेको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सेती प्रादेशिक अस्पताल र वीरअस्पतालमा गरिएको नमुनाको परीक्षणमा बिहीबार एकैदिन सुदूरपश्चिम प्रदेशका ३ सय ३३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो ।

बिहीबार बझाङबाट २०, कैलालीबाट ४, अछामबाट १६, डोटीबाट ३० गरी ७० जना डिस्चार्ज भई हालसम्म जम्मा डिस्चार्ज हुनेको संख्या ५ सय ६१ पुगेको छ ।

कोभिड(१९ का कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा कोभिड(१९ को सङ्क्रमणको दर प्रदेशमा ह्वात्तै बढ्दै गएको छ । प्रदेशमा पहिलोपटक गएको चैत १४ गते पहिलो कोरोना संक्रमित भेटिएका थिए ।

वैशाख सुरु हुँदासम्म ५ जना संक्रमित फेला परेकामा त्यसपछि झण्डै १ महिनासम्म नयाँ सङ्क्रमणको दर स्थिर रहेको थियो तर कोरोना संक्रमित देश भारतबाट फर्किने नेपाली बढ्दै जाँदा प्रदेशमा सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ ।

हालसम्म पीसीआर पद्धतिबाट २० हजार ९९६ को स्वाबको नमुना जाँच भइसकेकोमा ३ हजार ६७९ नमुनाको नतिजा आउन बाँकी छ ।

यस्तै, आरडीटी पद्धतिबाट हालसम्म १ लाख १३ हजार ८९३ नमुनाको जाँच भइसकेको छ । बन्दबन्दी खुकुलो पारिएसँगै सर्वसाधारणको चहलपहल पनि बढ्दै जाँदा रोगको जोखिम पनि बढ्ने देखिएको कतिपयको बुझाइ छ ।

संक्रमित देश भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका नेपालीको बसाईसमेत व्यवस्थित र तोकिएको मापदण्डअनुसार हुन नसक्दा पनि सङ्क्रमणको जोखिम थपिएको हो । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भारतबाट आउने क्रम जारी रहँदासम्म प्रदेशमा कोरोना सङ्क्रमको दर पनि बढ्दै जाने बताए ।

धनगढी उपमहानगरपालिकाले पीसीआर पद्धतिबाट नमुना जाँच गर्नका लागि बिहीबारबाट शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गर्न थालेको छ । बेली गाउँस्थित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत स्वाब सङ्कलन सुरु गरिएको उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बताए ।

उपमहानगरपालिकाले विभिन्न वडाका क्वारेन्टाइनमा बसेका शङ्कास्पद व्यक्तिको कोरोना जाँच गरेर कोरोना पोजिटिभ देखिएकालाई उपमहानगरपालिकाले बनाएको आइसोलेसनमा राख्न थालेको छ । रासस