साग महिला फुटबलको फाइनल आज

मंसिर २३, काठमाडौं – १३औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला फुटबलको फाइनल खेल सोमबार (आज) हुँदैछ। स्वर्ण पदकका लागि आयोजक नेपाल र भारतबीच पोखरा रङ्गशालामा खेल हुन लागेको हो ।

घेरलु मैदान र दर्शकको बाक्लो उपस्थितिले नेपाली टोलीको मनोबल उच्च बनाउने छ। यस्तै दुई दिनअघिको खेलमा भएको गल्तीलाई सुधार गर्दैै आफू अनुकूलको नतिजा ल्याउने अवसर नेपाललाई छ। नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले अघिल्लो खेलमा भएको गल्तीलाई सुधार गर्दै स्वर्ण पदकका लागि स्पर्धामा उत्रिने बताए ।

भारत नेपालका लागि नौलो प्रतिद्वन्द्वी नरहेको उल्लेख गर्दै उनले भने, ’खेलमा हुने गल्तीलाई कम गर्दै विपक्षीको गल्तीलाई सदुपयोग गरेर स्वर्ण जित्ने गरी खेल्ने छौँ। घरेलु मैदानमा भारतलाई हराउन हामी सक्षम छौ ।

जारी सागमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ३–० तथा श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको थियो भने भारतसँग १–० को अन्तरले पराजित भएको थियो । भारतले श्रीलङ्कालाई ६–०, माल्दिभ्सलाई ५–० र नेपाललाई १–० गोलले पराजित गरी समूह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो।

नेपाल र भारत हालसम्म अन्तरराष्ट्रिय महिला फुटबलमा छ पटक भिडेका छन्। नेपालसँगको सबै स्पर्धामा भारत हाबी हुँदै आए पनि नेपाली टोलीले उनीहरुलाई कडा टक्कर दिँदै आएको छ।