साग  अन्तर्गत सुटिङमा भारतलाई १८ स्वर्ण  – माल्दिभ्स, भूटान र नेपाल पदकविहीन

मंसिर २३,काठमाडौ -तेह्रौँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत चितवनको रत्ननगरमा भएको सुटिङ खेलमा कूल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ ।

स्वर्ण रजत र कास्य गरी कूल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरि २९ पदक पाउन सफल भएको हो ।

यसैगरि दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्यसहित १४ पदक हात पारेको छ । कुनै पनि स्वर्ण नजितेको बङ्गलादेशले कूल १० पदक हात पार्न सफल भयो ।
बङ्गलादेशले ६ रजत र ४ कास्य पदक जितेको हो । चौथो स्थानमा रहेका श्रीलङ्काले २ रजत र ५ कास्य गरी कूल सात पदक हात पारेको छ । माल्दिभ्स, भूटान र नेपाल पदकविहीन रहे ।

सुटिङको अन्तिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जित्दा श्रीलङ्काले रजत र बङ्गलादेशले कास्य पदक जिते । सातदोबाटोस्थित सुटिङ रेञ्जमा भएको १० मिटर एयर पेस्तोल मिक्स इभेन्टमा भारतले स्वर्ण पदक हात पारेको हो ।

यसको समूह चरणमा नेपाली टिम पाँचौँ हुँदै बाहिरिएको थियो । भारतका अनुराज सिंह र श्रवण कुमारको टोलीले १६ अङ्कसहित स्वर्ण पदक जितेको हो । स्वर्ण पदकको भिडन्तमा श्रीलङ्काका एलभिस के।ए।आई। र फर्नान्डो टी।डी।एसको जोडी ८ अङ्कमा रोकिएको थियो ।

कास्य पदकका लागि भने बङ्गलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरेका थिए । जसमा बङ्गलादेशले बाजी मार्न सफल भयो । बंगलादेशका एड्रिना फिर्दोस र सकिल अहमदको जोडीले १७ अङ्कका साथ कास्य पदक जित्दा पाकिस्तानका अन्न इवित्स र गुलफम जोसेफ ७ अङ्कमा रोकिँदै चौथो स्थानमा रहे । विजेता खेलाडीहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठले पदक प्रदान गरे ।