सांसद साहको रिहाईको माग गर्दै राजपाद्धारा मलङ्गवा बजार बन्द

असोज ३०, काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रतिनिधि सभाका सांसद प्रमोद साहको रिहाई माग गर्दै राजपाले मलंगवा बन्द गराएको छ ।

जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका प्रतिनिधि सभाका सांसद प्रमोद साहको रिहाई माग गर्दै राजपाले मलंगवा बन्द गराएको हो ।

बन्दका कारण यातायात अवरुद्ध भएको छ । बजारका सबै पसलहरु बन्द रहेका कारण जनजीवन प्रभावित भएको छ ।

मलङ्गवास्थित खुटौना निवासी सांसद साह सर्लाही क्षेत्र नम्वर १ का सांसद हुन् । सांसद साहले बुद्ध एयरको विमानले समयमै उडान नभर्दा उपचारका लागि काठमाडौं जान लागेका एक बिरामीको अवस्था गम्भीर भएपछि आक्रोशित भएर तोडफोडमा उत्रिनुपरेको बताएका छन् ।