सभामुखको निर्वाचन आज हुदै

माघ १२, काठमाडौं – प्रतिनिधिसभा सभामुखको निर्वाचन आज हुँदैछ । सभामुख चयनका लागि प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुखको निर्वाचन माघ १२ गते (आज)गर्ने घोषणा गरेको थियो। जेष्ठ सदस्यको हैसियतले राष्ट्रिय जनता पार्टी (राजपा)का नेता महन्थ ठाकुरले प्रतिनिधिसभामा सभामुखको जिम्मेवारी सम्हाल्दै सभामुखको निर्वाचनको मिति घोषणा गरेका हुन् ।

सभामुखका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ । गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखबिहीन छ ।

यसैबीच सभामुखका उम्मेदवार सापकोटालाई तत्काल पक्राउ गर्न माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटको आज सुनवाइ हुँदैछ।

सापकोटालाई तत्काल पक्राउ गरी फौजदारी अभियोगमा मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो। अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै रिट निवेदन दर्ता गरेका हुन्।

काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा अदालतमा सापकोटाविरुद्ध विचाराधिन मुद्दा रहेकै अवस्थामा उनलाई नेकपाले प्रतिनिधिसभाको सभामुख पदमा निर्वा्चित गराउन लागेको आरोप लगाउँदै त्रिपाठीले उनलाई सभामुख निर्वा्चित हुनबाट रोक्न र कानूनी कारवाही अघि बढाउन तत्काल पक्राउ गर्नुपर्ने जिकिर गरेका छन् ।